बेलायतमा कार उत्पादन पुस्ताकै सबैभन्दा तल्लो स्तरमा झर्यो
काठमाडौं। बेलायतमा सन् २०२० मा कार उत्पादन अघिल्लो वर्षको तुलनामा १ तिहाइले कम भएर ९ लाख २१ हजारमा झरेको छ । यो १९८४ देखि यताकै सबैभन्दा कम भएको औद्योगिक तथ्यांकको हवाला दिँदै बीबीसीले जनाएको छ । २०२० मा कूल ९ लाख २० हजार ९२८ कार उत्पादन भएका थिए । यो २०१९ को तुलनामा २९.३ प्रतिशतले कम भएको मोटर उत्पादक तथा बिक्रेता समाजका प्रमुख माइक हावेसले बताए ।
महामारीले उत्पादन कारखाना बन्द हुनु परेको र साथमा ग्राहकको माग पनि घट्दै जाँदा २०२० को उत्पादन एक पुस्ताकै सबैभन्दा खराब भएको हावेसले बताए । तर, भ्याक्सिन बजारमा आउनु र युरोपियन युनियनसँग व्यापार सम्झौताले २०२१ लाई आशावादी बनाएको उनको भनाइ छ । बेलायतको लागि गरिने उत्पादन ३०.४ प्रतिशतले र निर्यातका लागि गरिने उत्पादन २९.१ प्रतिशतले घटेको छ । बेलायतमा बन्ने १० किसिमका कारमध्ये ८ किसिमका कार विदेश निर्यात गरिन्छ । यसले पनि युरोपियन युनियनसँग ट्रयारिफ फ्री सम्झौता महत्वपूर्ण हुने देखाएको उनले बताए ।
युरोपियन युनियन बेलायती कारको सबैभन्दा ठूलो बजार हो र यसले कूल बजारको ५३.५ प्रतिशत हिस्सा ओगट्छ । तर २०२० मा यो ३०.८ प्रतिशतले घटेर केवल ४ लाख ४६० कार मात्र निर्यात भए । डिसेम्बरमा उत्पादन २.३ प्रतिशतले घटेर ७१ हजार ४०३ कार उत्पादन भएका थिए । होन्डा लगायतका केही उत्पादकहरु सीमा बन्द भएका कारण आवश्यक सामग्री आपूर्तिमा समस्या भोगेका थिए ।







डिसी नेपाल







Facebook Comment