कोरोना जाँचको लागि मलद्वारबाट स्वाब लिइँदै

डिसी नेपाल
१५ माघ २०७७ १२:०४
584
Shares

काठमाडौं। चीनले कोरोनाभाइरस जाँचको नयाँ तरिका निकालेको छ । त्यहाँ अब शरीरको यस्तो ठाउँबाट स्वाब लिन थालिएको छ कि त्यसको विरोध हुन थालेको छ । चीनमा अब नाक र मुखसँगै मलद्वारबाट समेत स्वाब निकालेर जाँच गर्न थालिएको छ । चीनका विशेषज्ञहरुले यो तरिका कोरोनाको पुष्टिको लागि सही भएको बताएका छन् ।

चीनको सरकारी टेलिभिजन सीसीटिभीलाई उद्धृत गर्दै फोर्ब्सले जनाएअनुसार एनल स्वाब परीक्षणको सुरुवात बेइजिङको डाक्सिङ जिल्लाबाट गरिएको छ । तर, जब मानिसहरुलाई यसरी स्वाब लिने भनियो, मानिसहरुले विरोध गर्न थाले । यस किसिमको जाँचको विरोधमा आवाज उठ्न थालेका छन् । विरोधका बीच बेइजिङका जाँच केन्द्रहरुमा भने एनल स्वाबबाटै जाँच भइरहेको छ ।

चीनका विशेषज्ञहरुका अनुसार एनल स्वाबबाट उच्च जोखिममा रहेका बिरामीहरुको मात्रै जाँच भइरहेको छ । यो तरिकाबाट जाँच गर्दा कोरोनाभाइरसको सटिक नतिजा आउने विशेषज्ञले बताएका छन् । युआन अस्पतालका बरिष्ठ डाक्टर ली तोंगजेंगका अनुसार एनल स्वाब नाक वा घाँटीको स्वाब परीक्षणभन्दा बढी संवेदनशील छ । यसबाट धेरै सजिलोसँग व्यक्ति संक्रमित भए–नभएको पुष्टि हुन्छ । लीका अनुसार केही एसिम्प्टोमेटिक बिरामी छिटो ठिक हुन्छन् र उनीहरुको नाक वा घाँटीमा ३ देखि ५ दिनपछि भाइरस हुँदैन । तर, भाइरस उनीहरुको शरीरमा हुन्छ र एनल स्वाब परीक्षणमा त्यो भाइरस भेटिन्छ ।

बेइजिङमा एक विद्यार्थी कोरोना पोजेटिभ पाइएपछि त्यहाँका स्कुलहरुमा एनल स्वाब परीक्षण अनिवार्य गरिएको छ । पछिल्लो समय बेइजिङमा ठूलो परिमाणमा एनल स्वाबको परीक्षण भइरहेको छ । बेइजिङका फार्मासिस्ट पांग शिन्हुआका अनुसार एनल स्वाबको परीक्षण छिटो र सजिलो हुन्छ । पांगका अनुसार जसलाई कोरोना संक्रमण हुन्छ उसलाई पखाला लाग्छ त्यसैले उसको एनल स्वाबमा भाइरस भेटिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *