२६ जनवरीदेखि भारतमा १ सय भन्दा धेरै किसानहरु गायब

डिसी नेपाल
२० माघ २०७७ ११:०२
244
Shares

काठमाडौं। भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको दिन २६ जनवरीपछि एक हप्ताको समयमा १ सयभन्दा धेरै किसानहरु बेपत्ता भएका छन् । भारतको गणतन्त्र दिवस २६ जनवरीका दिन किसानहरुले ट्रेक्टर परेड निकालेका थिए । किसानहरुले ठूलो संख्यामा ट्रेक्टरसहित राजधानी दिल्ली प्रवेश गरेपछि ठूलो हिंसा भएको थियो । यस क्रममा पुलिसले ठूलो संख्यामा प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको थियो । पछिल्लो समय संयुक्त किसान मोर्चाले २६ जनवरीको दिनदेखि नै १०० भन्दा धेरै किसानहरु बेपत्ता भएको जानकारी दिएको छ ।

दिल्ली पुलिसले भने यस विषयमा सफाइ दिँदै आफूहरुले कसैलाई गैरकानुनी हिरासतमा नराखेको दावी गरेको छ । दिल्ली पुलिसका जनसम्पर्क अधिकारी ईश सिंघलले दिल्ली पुलिसले किसान आन्दोलनसँग सम्बन्धित कूल ४४ एफआइआर दर्ता गरेको र १ सय २२ जनालाई गिरफ्तार गरेको बताएका छन् । संयुक्त किसान मोर्चाले बेपत्ता भएका भनिएका सय जना यी १ सय २२ जनामध्येका होइनन् । यी १ सय २२ जना गिरफ्तार भएको जानकारी दिइएको छ तर किसान मोर्चाले दावी गरेका १ सयभन्दा बढी किसान न गिरफ्तार भएको जानकारी छ न उनीहरु कसैको सम्पर्कमा छन् ।

भारतीय अखबार ट्रिब्युनका अनुसार सिंघलले पक्राउ गरिएका १ सय २२ जनाको जानकारी आफ्नो वेबसाइटमा दिइएको र दिल्ली पुलिसले उनीहरुविरुद्ध कस्तो मुद्दा अगाडि बढाएको छ भन्ने विवरण पनि सार्वजनिक गरिएको बताउँदै कुनै किसिमको हल्लाको पछि नलाग्न भनेका छन् । किसानहरुले भने सयभन्दा बढी किसानहरु गिरफ्तार भएको पनि जानकारी नपाइएको र उनीहरु कसैको पनि सम्पर्कमा नरहेको भन्दै उनीहरुबारे जानकारी दिनको लागि हटलाइन फोन नम्बर पनि जारी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *