अक्सफोर्डको भ्याक्सिन ट्रायलमाथि गम्भीर प्रश्न ! यही भ्याक्सिन अहिले नेपालमा लगाइँदैछ

डिसी नेपाल
२० माघ २०७७ १५:२५
520
Shares

काठमाडौं। नेपालमा भ्याक्सिन अभियान सुरु भइसकेको छ । यसका लागि अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिशिल्ड भ्याक्सिन प्रयोग गरिएको छ । तर, यो भ्याक्सिनको ट्रायलको क्रममा गम्भीर गडबडी गरेको भन्दै अक्सफोर्ड विश्वविद्यालयको ट्रायलमाथि प्रश्न उठाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन ट्रायलको क्रममा गडबडी भएको थियो तर यो गडबडीबारे ट्रायलमा सहभागी स्वयंसेवकसँग जानकारी लुकाइएको थियो ।

रिपोर्टअनुसार भ्याक्सिन ट्रायलको क्रममा सहभागी प्रारम्भिक स्वयंसेवकहरुमध्ये १ हजार ५ सय स्वयंसेवकलाई भ्याक्सिनको गलत डोज दिइएको थियो । यो गल्तीबारे थाहा भएपछि पनि ती स्वयंसेवकलाई भने यो जानकारी दिइएको थिएन । यो गडबडी ट्रायलका चीफ इन्भेस्टिगेटर र अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर एन्ड्रयु जे पोलार्डको एक पत्रबाट खुलासा भएको हो ।

यसअघि २०२० को डिसेम्बरमा रोयटर्सले अक्सफोर्डको ट्रायलमा सहभागीहरुलाई शोधकर्ताहरुको गल्तीका कारण लगभग आधा डोज दिइएको बताएको थियो । तर, एन्ड्रयु पोलार्डको पत्रमा यस्तो कुनै त्रुटि स्वीकार गरिएको छैन र शोधकर्ताहरुले बेलायती नियामक निकायलाई यसबारेमा कुनै जानकारी दिएको पनि खुलासा गरिएको छैन । रिपोर्टअनुसार एस्ट्राजेनेकाका एक प्रवक्ताले यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

यो भ्याक्सिनलाई बेलायत, युरोपेली संघ, नेपाल भारतसहित कैयौं देशहरुले आपतकालीन प्रयोगको अनुमति दिइसकेका छन् । बेलायत यसलाई स्वीकृति दिने पहिलो देश बनेको थियो । उसले ४ जनवरीदेखि जनतालाई भ्याक्सिन दिन सुरु गरेको थियो । तर, अब रोयटर्सले प्राप्त गरेको पत्रले यसको क्लिनिकल ट्रायलमाथि नै प्रश्न उठाएको छ ।

रिपोर्टका अनुसार गत हप्ता जर्मजनीको भ्याक्सिन समितिले अक्सफोर्डको भ्याक्सिन ६५ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई मात्र दिन सिफारिस गरेको थियो । युरोपेली संघले भने यो भ्याक्सिन १८ वर्षभन्दा बढी उमेरका सबैलाई दिन स्वीकृति दिएको छ । युरोपेली संघले यसको प्रभावकारिता पनि ७०.४ प्रतिशतबाट घटाएर ६० प्रतिशत मात्र बनाएको छ । अधिकारीहरुले यसको कारण क्लिनिकल ट्रायलको डाटाको कमी भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *