रुस सुरुदेखि नै सही थियोः स्पुतनिक–भी ‘सुरक्षित र प्रभावकारी’ प्रमाणित, सबै शंका निवारण

डिसी नेपाल
२१ माघ २०७७ १४:२४
104
Shares

काठमाडौं। रुसले निकै छोटो अपधिको परीक्षण र ट्रायलपछि नै स्वीकृति दिएको भन्दै विवादमा परेको भ्याक्सिन स्पुतनिक भी अन्ततः सुरक्षित र प्रभावकारी भएको प्रमाणित भएको छ । यससँगै यो भ्याक्सिनलाई लिएर अन्तर्राष्ट्रिय विज्ञहरुले उठाएका शंकाहरुको निवारण भएको छ । मंगलबार मेडिकल जर्नल द ल्यान्सेटमा यो भ्याक्सिनको तेस्रो चरणको ट्रायलको नतिजा प्रकाशित गरिएको छ । रिपोर्टका अनुसार यो भ्याक्सिन कोभिड–१९ विरुद्ध ९१.६ प्रतिशतसम्म प्रभावकारी छ ।

विशेषज्ञहरुले यसलाई सुरक्षित भ्याक्सिन भनेका छन् जसले बिरामीलाई अस्पताल जानुपर्ने वा मृत्युको जोखिमबाट बचाउन सक्छ । यो भ्याक्सिन रोलआउट भएदेखि ट्रायलको डाटा रिलिज हुँदासम्म विवादमा रह्यो । तर, अब भने वैज्ञानिकहरुले यो भ्याक्सिन प्रभावकारी र सुरक्षित भएको बताएका छन् । यो भ्याक्सिनले बेलायतमा विकसित अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिन तथा बेल्जियममा बनेको जेनसनको भ्याक्सिनजस्तै काम गर्छ । यसले बिरामी हुने जोखिम नबढाइ शरीरलाई भाइरसको जेनेटिक कोडको खतरा पहिचान गर्न र त्यससँग लड्न सिकाउँछ ।

भ्याक्सिनेट भएपछि शरीरले एक विशेष रुपले कोरोनाभाइरसविरुद्ध एन्टिबडी उत्पादन गर्न सुरु गर्छ । अर्थात जब कोरोनाभाइरसले शरीरलाई आक्रमण गर्न खोज्छ प्रतिरक्षा प्रणाली त्यससँग लड्न तयार रहन्छ । यो भ्याक्सिनलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सजिलैसँग राख्न सकिन्छ । यो भण्डारण र ओसारपसार गर्न सहज छ किनकि एक सामान्य फ्रिज ३ देखि ५ डिग्री सेल्सियसको तापक्रममा चल्छ ।

अन्य भ्याक्सिनको विपरित स्पुतनिक भी भ्याक्सिनको २ डोजका लागि २ अलग अलग संस्करण प्रयोग गरिन्छ । अर्थात पहिलो डोजमा जुन च्याक्सिन दिइन्छ दोस्रो डोज त्योभन्दा फरक हुन्छ । विशेषज्ञले पनि दुवै पटक एउटै संस्करण प्रयोग गर्नुभन्दा दुई फरक फरक संस्करण प्रयोग गर्नु प्रभावकारी हुने मान्छन् । यसबाट शरीरले लामो समयसम्म सुरक्षा पाउने विज्ञहरु बताउँछन् । यो भ्याक्सिन ट्रायलको क्रममा कुनै साइड इफेक्ट पनि पाइएको छैन । जुन समूहलाई यो भ्याक्सिन दिइएको थियो उनीहरुमध्ये कोही पनि गम्भीर बिरामी भएनन् र कसैको पनि मृत्यु भएन ।

रशियन डाइरेक्ट इन्भेष्टमेन्ट फण्डका सीइओ किरिल दिमित्रीएभले समाचार एजेन्सी एपीसँग कुरा गर्दै ल्यान्सेट जर्नलमा प्रकाशित शोध यो भ्याक्सिनका सबै आलोचकहरुको लागि ‘चेक एण्ड मेट’ भएको बताए । ‘रुस सुरुदेखि नै सही थियो’ उनले भने । रुसको यो भ्याक्सिन अहिले अर्जेन्टिना, प्यालेस्टाइन, भेनेजुएला, हंगेरी, युएइ र इरानमा प्रयोग भइरहेको छ । बोलिभिया, अल्जेरिया, सर्विया, बेलारुस, आर्मेनिया, तुर्कमेनिस्तानमा पनि यो भ्याक्सिन दिइँदैछ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फण्डने नेपालको एक निजी कम्पनीसँग पनि समझदारी भइसकेको र नेपाललाई २ करोड ५० लाख डोजसम्म दिन सक्ने बताएको छ ।

यो भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा २० हजार जनालाई सहभागी बनाइएको थियो । तीमध्ये १४ हजार ९६४ जनालाई भ्याक्सिन र ४ हजार ९०२ जनालाई प्लेसेबो दिइएको थियो । ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिक्रियामा पेफेसर इयान जोन्स र पली रोयले भनेका छन् ‘पारदर्शिताको कमी, सानो ट्रायल र हतार गरेका कारण स्पुतनिक भीको आलोचना भएको थियो । रिपोर्टमा आएका परिणाम स्पष्ट छन् । वैज्ञानिक सिद्धान्तको दायरामा भ्याक्सिनले राम्रो प्रदर्शन गरेको छ । यसको अर्थ कोभिड–१९ सँगको युद्धमा एक अर्को भ्याक्सिन थपियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *