कू गरेपछि सूचीमाथि मुद्दा दायर

डिसी नेपाल
२१ माघ २०७७ २०:४४
80
Shares

यङ्गुन (एजेन्सी)। म्यानमारमा सेनाले कू गरेको तेस्रो दिन बुधबार जननिर्वाचित नेत्री आङ सान सूचीमाथि प्रहरीले मुद्दा दायर गरेको छ। उनीमाथि कैयौँ अभियोगहरूमा मुद्दा दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरी दस्तावेजहरूका अनुसार फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन्। नेत्री सूचीमाथि आयात तथा निर्यातसम्बन्धी कानुनहरूको उल्लङ्घन गरेको र सञ्चारका अवैध उपकरणहरू राखेको लगायतका अभियोग लगाइएको छ।

सैन्य कू पश्चात्‌ सेनाले नियन्त्रणमा लिएपछि उनलाई कहाँ राखिएको छ भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। तर कतिपय विवरणहरूमा जनाइएअनुसार राजधानी नेपिद्‌अस्थित निवासमै सूचीलाई नजरबन्दमा राखिएको छ।

पदबाट हटाइएका राष्ट्रपति विन मिनविरुद्ध पनि प्रहरीले अभियोग दर्ता गरेको छ। उनीमाथि कोरोनाभाइरस महामारीबीच भेलासम्बन्धी नियमहरू उल्लङ्घन गरेको अभियोग लगाइएको छ। मिनलाई पनि दुई साताका लागि हिरासतमा राखिएको छ।

सोमवार सखारै सेनाले कू गरेपश्चात्‌ नेत्री सूची अथवा मिनको तर्फबाट कुनै अभिव्यक्ति आएको सुनिएको छैन। सेनाले एक वर्षका लागि सङ्कटकाल लागु गरेको छ र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ।

तर जननिर्वाचित सरकारलाई च्युत गरेकोमा अन्तर्राष्ट्रिय समुदायबाट सेनाको निन्दा भइरहेको छ। यसैबीच सूचीका समर्थहरूले सोमवार सत्ता हत्याएको सैनिक सरकारविरुद्ध नागरिक अवज्ञाको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्।

थुप्रै स्वास्थ्यकर्मीहरूले सैनिक अधिकारीहरूसँग सहकार्य नगर्ने घोषणा गरेका छन्। देशको व्यापारिक राजधानी याङ्गुनका बासिन्दाले रातको समयमा मोटरकारका हर्न बजाएर र घरका भाँडाकुँडा बजाउँदै चर्को आवाज निकालेर सैनिक सरकारप्रति अवज्ञा जनाएका थिए।

म्यान्मारमा सङ्कटकाल लागु गरिएपछि हाल ११ सदस्यीय सैनिक कमिटीले देशमा शासन गरिरहेको छ। सेनाले भूतपूर्व सत्ताधारी दल न्याश्नल लीग फर डिमोक्रेसीका केही गैरसैनिक राजनीतिज्ञलाई हिरासत मुक्त गर्न शुरू गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *