पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सधैँ तयार छौँ : मन्त्री गुरुङ

डिसी नेपाल
२४ माघ २०७७ १४:५९
56
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताए।

पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागि मात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए। आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउने पनि उनले बताए।

विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानूनीरुपमा नै अन्त्य गरिने उनको धारणा थियो। हाल रु पाँच करोड रहेको पत्रकार कल्याणकारी कोषका लागि रु पाँच करोड थपेर रु १० करोड बनाएर बहुवर्षीय कार्यक्रमका रुपमा अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी गराए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई रु १५ लाखको चेक हस्तान्तरण गरेको छ। नगर प्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्दै समाज रुपान्तरण लागि मुख्य भूमिका निर्वाह गर्ने पत्रकारलाई सहयोग गर्न पाउँदा आफू खुशी रहेको बताए।

कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाउनुभएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ । सम्मान पाउनेमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, निर्मला शर्मा, देवेन्द्र चुँडाल, विश्वराज किरात, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाल वाग्ले, टिवी विरही, गोपाल बुढाथोकी, दामोदरप्रसाद दवाडी र मानध्वज लामा रहेका छन्। कार्यक्रममा पत्रकारिता नामक स्मारिकाको विमोचना गरिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.