देशका विभिन्न स्थानमा वर्षा र हिमपातले जनजीवन प्रभावित
फाइल फाेटाे।
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएको छ। शुक्रबारदेखि नै वर्षा र हिमपात सुरु भएपनि शनिबार तुलनात्मक रुपमा बढी वर्षा र हिमपात भएको हो।
यसैबीच उपत्यकाका आसपासका डाँडा फूलचोकी, चन्द्रगिरि, नगरकोटलगायत स्थानमा पनि हिउँ परेको छ । वर्षा र हिमपातले चिसो बढेको छ।
पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाड तथा डाँडाहरुमा हल्का हिउँ परेको हो । चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ।
दोलखामा भने हिमपातले व्यवसायी हरु खुशी भएका छन्। उच्च हिमाली भेगमा परेको हिमपातले होटल व्यवसायी र किसान उत्साहित भएका हुन्। कोरोनाको कारण ९ महिनासम्म बन्द रहेको होटल व्यवसायी हिउँ परेपछि आन्तरिक पर्यटकहरु जिल्ला भित्रने आशामा उत्साहित भएका हुन्।
त्यस्तै जिल्लामा राम्रो उत्पादन हुने आलु, काउली, बन्दा, गहुँ लगायतको बालीलाई राम्रो हुने र उत्पादन बढ्ने हुँदा किसानसमेत उत्साहित भएका छन्।
रसुवाको सदरमुकाम धुन्चे लगायत जिल्लाका उत्तरी क्षेत्रमा पुन: हिमपात भएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएसँगै शुक्रबार दिनभर र शनिबार बिहानैबाट सदरमुकामलगायत आसपास क्षेत्रहरुमा हिमपात भएको हो।
केही समयअघि उच्च हिमाली क्षेत्रमा सामन्य हिमपात भएपनि आज बर्षातसँगै जिल्ला सदरमुकाम लगायत दर्जनौँ बस्तीहरुमा बाक्लो हिमपात भएको गोसाइकुण्ड गाँउपालिका एक थुमनका दावा तामाङले बताए।
रसुवाको लाङटाङ, क्यान्जिङ, गोसाँईकुण्ड यार्सा, गत्लाङ र नागथली जस्ता उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । पानी र हिमपात भएपछि अन्नबाली सप्रिने भयो भन्दै किसानहरु खुशी भएका छन्।
शनिबार बिहानैदेखि परेको वर्षासँगै आएको हिमपातका कारण मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ।
उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा १ फिटसम्म बाक्लो हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्।
मुक्तिनाथ, कागबेनीमा पनि १ फिटसम्म हिउँ जमेको छ भने हिमपातकै कारण कागबेनीभन्दा माथि यातायात चल्न नसक्ने उनले जानकारी दिइन्। हिमपातपछि म्याग्दी र मुस्ताङका डाँडाकाँडाहरु सेताम्य भएका छन्।
मुस्ताङको तापक्रम माइनस तर्फ झदै गैरहेको बताइएको छ भने चिसो बढेपछि सर्वसाधारणहरु घरभित्रै बस्न बाध्य बनेका छन्।
म्याग्दीको माथिल्लो क्षेत्रमा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुईनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, नांगी लगायतका क्षेत्रमा हिमपात भएको छ।
शुक्रबार बिहानदेखि परेको हिमापातले मनाङका गाउँ वस्ती र सडक सेताम्य भएका छन्। जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले हिमपातका कारण अवरुद्ध सडक र बाटाघाटाहरु खुलाउने प्रयास गरेका छन्।
हिमपातका कारण अन्नबाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन्।
लगातारको चिसोले भने जनजीबन कठिन बनाएको स्थानीयदबासिन्दाको भनाइ छ। झन्ण्डै दुईमहिनादेखि नासो गाउँपालिकाको जङ्गलमा लागेको डडेँलो हिमपातका कारण पूर्ण रुपमा निभेको छ।







डिसी नेपाल








Facebook Comment