आफ्नै घरमा भारतको लज्जास्पद पराजय
काठमाडौं। इङल्याण्डविरुद्धको सिरिजको पहिलो टेस्टमा भारत आफ्नै मैदानमा लज्जास्पद रुपमा पराजित भएको छ । आज पाँचौं दिन भारत ४२० रनको लक्ष्य पच्छ्याउने क्रममा १९२ रनमै अलआउट भएको छ । यससँगै भारत २२७ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको इङल्याण्डले कप्तान जो रुपको दोहोरो शतकको मद्दतमा पहिलो इनिङमा ५७८ रनको विशाल स्कोर खडा गरेको थियो । रुटले २१८ रन बनाएका थिए । इङल्याण्डका लागि डोम सिब्ले र बेन स्टोक्सले अर्धशतक बनाएका थिए । सिब्लेले ८७ र स्टोक्सले ८२ रन बनाए । भारतका लागि पहिलो इनिङमा जसप्रित बुमराह र रविचन्द्रन अश्विनले ३–३ तथा इशान्त शर्मा र शहवाज नदीमले २–२ विकेट लिए ।
भारतले पहिलो इनिङमा ३३७ मात्र रन बनाउन सक्यो । भारतका लागि चेतेश्वर पुजारा, ऋषभ पन्त र वाशिङटन सुन्दरले अर्धशतक बनाए । पुजाराले ७३, पन्तले ९१ र सुन्दरले नटआउट ८५ रन बनाएका थिए । इङल्याण्डका लागि डोम बेसले ४ तथा जोफ्रा आर्चर, ज्याक लीच र जेम्स एण्डरसनले २–२ विकेट लिए ।
दोस्रो इनिङमा भने इङल्याण्ड सस्तैमा अलआउट भयो । इङल्याण्डले दोस्रो इनिङमा १७८ रन मात्र बनाउन सक्यो र कसैले पनि अर्धशतक बनाउन सकेनन् । यद्यपि पहिलो इनिङको विशाल स्कोरको अग्रताका कारण इङल्याण्डले ४१९ रनको अग्रता पायो र भारतले जीतको लागि ४२० रनको लक्ष्य पायो । भारतका लागि दोस्रो इनिङमा रविचन्द्रन अश्विनले ६ विकेट दिएका थिए । शहबाज नदीमले २ तथा इशान्त शर्मा र जसप्रित बुमराहले १–१ विकेट लिए ।
४२० रनको लक्ष्य पच्छ्याउँदै भारतले सोमबार बेलुका नै ब्याटिङ सुरु गरेको थियो र सोमबार नै रोहित शर्मा सोमबार नै आउट भएका थिए । मंगलबार भारत १९२ रनमा अलआउट भयो । भारतका लागि कप्तान विराट कोहलीले ७२ रन बनाए, शुभमन गिलले ५० रन बनाए । इङल्याण्डको लागि ज्याक लीचले ४, जेम्स एण्डरसनले ३, जोफ्रा आर्चर, डोम बेस र बेन स्टोक्सले १–१ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment