टाइ नलगाएको भन्दै सभामुखले सांसदलाई बैठकबाट बाहिर निकालिदिएपछि बबाल

डिसी नेपाल
२७ माघ २०७७ १४:५८
440
Shares

काठमाडौं। न्यूजिल्याण्डको संसदका सभामुख ट्रेवर मलार्डले आदिवासी सांसद राविरी वेइटिटीलाई संसद बैठकबाट बाहिर निकालिदिएपछि बबाल भएको छ । राविरीले संसद बैठकमा बोल्न चाहन्थे तर उनले टाइ लगाएका थिएनन् । यही कारण सभामुखले उनलाई बैठकबाट बाहिर निकालिदिएका हुन् । सभामुख मलार्डले केही दिनअघि पनि राविरीसँग संसद बैठकमा कुनै मन्त्रीसँग प्रश्न सोध्न चाहेको भएमा नियमअनुसार टाइ लगाउनुपर्ने भनेका थिए ।

राविरी माओरी आदिवासी समुदायका हुन् । उनी सदनमा आफ्नो समुदायको लकेट लगाएर आएका थिए । सभामुखले उनलाई आफ्नो च्याम्बरमा पनि बोलाएर सम्झाएका थिए तर राविरी सुझाव मान्न तयार थिएनन् । उनले सभामुखको व्यवहार सहन गर्न नसकिने बताएका छन् । न्यूजिल्याण्ड हेराल्डको एक रिपोर्टअनुसार संसदबाट निकालिएपछि राविरीले भने ‘हामी आदिवासीहरुलाई आफ्नो परम्परासँग प्रेम छ । हामी यही लकेट लगाउँछौं । गुलामीको प्रतीक लगाउन मलाई आपत्ति छ ।’

मंगलबार संसदमा प्रश्नकाल चलिरहेको थियो । राविरीले एउटा प्रश्न सोध्न चाहेका थिए । सभामुख मलार्डले उनलाई रोके । सभामुखले भने ‘तपाइँ बस्नुस् । यहाँ त्यही व्यक्तिले प्रश्न सोध्न सक्छ जसले टाइ लगाएको छ ।’ राविरीले फेरि प्रयास गरे । यस पटक पनि मलार्डले उनलाई रोके । दुवैको बीचमा बहस भयो । त्यसपछि सभामुख मलार्डले राविरीलाई संसद बैठकबाटै निकालिदिए । बाहिर निस्किनुभन्दा अगाडि राविरीले भने ‘मुद्दा टाइको होइन हाम्रो सांस्कृतिक पहिचानको हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *