भारत–चीन १० महिने लामो गतिरोधबारे सहमति
फाइल तस्वीर
नयाँ दिल्ली (एजेन्सी)। भारत र चीनबीच पछिल्लो १० महिनादेखि जारी सीमाको गतिरोध समाधान गर्ने विषयमा सहमति भएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार भारतको संसदलाई सम्बोधन गर्दै सहमति भएको बताएका छन्।
तर, चिनियाँ पक्षले यो विषयमा केही जानकारी दिएको छैन। भारत र चीनका सेनाबीच गत वर्ष गलवान उपत्यकामा भएको हिंस्रक झडपमा भारतीय २० जना सैनिक मारिएका थिए। चीनतर्फ पनि केही क्षति भएको भारतीय दावी थियो। तर चीनले आधिकारिक रुपमा क्षतिको कुनै विवरण हालसम्म सार्वजनिक गरेको छैन।
सो हिंस्रक झडपपछि दर्जनौ पटक भएका वार्तापछि सहमति भएको भारतले जनाएको छ।
भारतीय रक्षामन्त्री सिंहले भनेका छन्, ‘सदनलाई यो सुनाउँदा मलाई खुशी लागेको छ, चीनसँग प्यांगोंग त्सो तालको उत्तर र दिक्षणी तटमा सेनालाई पछाडि हटाउने सम्झौता भएको छ।’
पूर्वी लद्दाखमा भारत–चीन सीमा (वास्ताविक नियन्त्रण रेखा)मा विगत १० महिनादेखि दुई देशका सेना आमनेसामाने छन्। यो सीमा विवाद समाधान गर्ने विषयमा भारत र चीनबीच हालसम्म ९ चरणको वार्ता भइसकेको छ।
चीनसँग सम्झौता भएको रक्षामन्त्रीले जानकारी दिएसँगै भारतीयहरुले यसलाई चीनमाथि भारतको जितका रुपमा चर्चा गरिरहेका छन्। सामाजिक सञ्जालहरुमा भारतीयहरुले यसलाई जितका रुपमा लिएका पोस्टहरु गरिरहेका छन्। तर, चीनले भने सम्झौता भएको विषयमासमेत केही खुलाएको छैन।
भारतीय सञ्चार माध्यमहरुले स्याटेलाइट तस्वीरको हवला दिँदै चीनले सीमा क्षेत्रबाट बख्तरबन्द गाडीहरुलाई पछाडि हटाएको बताएका छन्। कम्तिमा चिनियाँ सेना १० किलोमिटर पछाडि हट्ने अवस्थामा पुगेकोसमेत केही भारतीय विशेषज्ञहरुले बताएका छन्। तर, केही भारतीय विशेषज्ञहरुले भने चीनले बख्तरबन्द गाडी पछाडि हटाए पनि सेना भने पछाडि नहटेको बताएका छन्।
गलवानमा भएको हिंस्रक भिडन्तपछि भारत र चीनबीच झण्डै युद्धको अवस्था बनेको थियो। तर अन्तर्राष्ट्रि समूदायको पहल र दुबै देशको संयमतापूर्वक व्यवहारले तनाव चर्किन पाएन। यो बीचमा दुईदेशका विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहाकार र सैन्य अधिकारीबीचसमेत लगातार वार्ता भएको थियो।
गलवान भिडन्तपछि भारतमा चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध लगाइएको छ भने चिनियाँ उत्पादन बहिस्कारसम्मको चर्चा चल्यो।







डिसी नेपाल







Facebook Comment