कोकाकोला अब प्लास्टिक होइन कागजको बोतलमा !

डिसी नेपाल
१ फागुन २०७७ १२:३३
544
Shares

काठमाडौं। कोकाकोलाले आफ्नो पेय अब कागजको बोतलमा राखेर बिक्री गर्ने तयारी गरेको छ । आफ्नो प्याकेजिङबाट प्लास्टिकलाई पूर्ण रुपमा हटाउने दीर्घकालीन योजनाको सुरुवाती चरणमा कोकाकोलाले कागजको बोतलमा प्याकेजिङ परीक्षण गर्न लागेको हो । बीबीसीका अनुसार एक डेनिस कम्पनीले बलियो कागजबाट बनेको प्रोटोटाइप तयार गरेको छ । यद्यपि यसमा अहिले पातलो प्लास्टिकको तह पनि प्रयोग गरिएको छ तर दीर्घकालीन योजना भने प्लास्टिकरहित शतप्रतिशत पुनः प्रयोगयुक्त बोतल तयार गर्ने हो जसले कार्बोनेटेड पेय पदार्थबाट ग्यास निस्किन पनि रोक्न सकोस् ।

कोकाकोलाले यसका लागि बोतलभित्र रहेको तरल पदार्थमा कागजबाट कुनै फाइबर नमिसियोस भन्ने पनि सुनिश्चित गर्नुपर्नेछ किनकि फाइबर मिसिँदा पेय पदार्थको स्वाद बिग्रिन सक्छ र सम्भवतः स्वास्थ्यको लागि पनि हानीकारक बन्न सक्छ । तर, ठूला उद्योगपतिहरुले यो योजनाको समर्थन गरेका छन् । उदाहरणका लागि कोकाकोलाले २०३० सम्म पूर्ण पुनः प्रयोग गर्न सकिने बोतल बनाउने लक्ष्य राखेको छ । गत वर्ष च्यारिटी समूह ब्रेक फ्रि फ्रम प्लास्टिकको वर्गीकरणमा कोकाकोला विश्वको पहिलो प्लास्टिक प्रदूषक बनेको थियो । यसपछि पेप्सी र नेस्ले थिए ।

द पेपर बोतल कम्पनी (पेबोको) कागजमा आधारित भाँडाहरु बनाउने डेनिस कम्पनी हो । यो कम्पनीको सबैभन्दा ठूलो चुनौती दबाब झेल्न सक्ने भाँडो बनाउनु हो किनकि कोला, बियर जस्ता पेय पदार्थ दबाबमा प्याकेजिङ गरिन्छ । सात वर्षभन्दा लामो प्रयोगशालाको कामपछि अब यो कम्पनी हंगेरीमा ट्रायल गर्नको लागि तयार छ र यो गर्मीमा त्यहाँ कोकाकोलाको फलफूलबाट बन्ने पेय एडेजलाई सबैभन्दा पहिले कागजको बोतलमा प्याक गरेर परीक्षण गरिँदैछ । सुरुमा २ हजार यस्ता बोतलमा पेय प्याक गरिनेछ जसलाई स्थानीय खुद्रा चेनमा बेचिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *