बेहोस हुनुअघि बालुवामा एक शब्द लेख्न सके, त्यही शब्दका कारण जीवितै उद्धार
काठमाडौं। एक्लै सानो डुंगामा समुद्रमा सयर गर्न गएका बेला गम्भीर घाइते भएका एक व्यक्ति बालुवामा लेखेको सन्देशका कारण जीवितै बाँच्न सफल भएका छन् । न्यूजिल्याण्डको दुर्गम समुद्र किनारमा ती व्यक्तिले बेहोस हुनुअघि बालुवामा ‘हेल्प’ लेखेका थिए । टाढैबाट देख्न सकिने गरी ठूला अक्षरमा लेखिएको त्यही सन्देशका कारण उनको जीवन बाँचेको छ ।
ती व्यक्ति अकल्याण्डको कारेकारे बीचमा एक्लै गएका थिए । न्यूजिल्याण्ड हेराल्डका अनुसार उनी गएको सानो डुंगालाई पानीको छालले हुत्याइदियो र उनी चट्टानमा ठोक्किएर गम्भीर घाइते भए । उनले आफू गएको डुंगा गुमाए र बल्लतल्ल किनारसम्म आए । त्यसपछि उनी बाक्लो झाडीमा हिँड्दै गर्दा हराए । उनले त्यहाँबाट बाहिर निस्कनको लागि करिब २ घण्टा प्रयास गरे तर नसकेपछि बालुवामा सन्देश लेखे । अरु कुनै विकल्प नभएपछि उनले घस्रिँदै बालुवामा ‘हेल्प’ लेखे त्यसपछि ढले ।
उनी भाग्यमानी थिए किनकि पर हिँडिरहेकी एक महिलाले उनले बालुवामा लेखेको सन्देश देखिन् । उनले स्थानीय स्कर्फ क्लवलाई खबर गरिन् तत्कालै २ जना उद्धारकर्मीहरु जेटस्कीमा घटनास्थलतर्फ लागे । उनीहरुले तत्कालै उनलाई आकस्मिक प्राथमिक उपचार गरेर अस्पताल पठाए । अकल्याण्डमा कोभिड लकडाउनका कारण नम्बर ३ अलर्ट भएकोले निकै कम मानिसहरु बाहिर भएका बेला ती व्यक्ति निकै भाग्यमानी भएको प्रहरीले बताएको छ ।







डिसी नेपाल







Facebook Comment