मेसु फेरिरहँदा अस्पताल प्रभावित

डिसी नेपाल
५ फागुन २०७७ २३:२४
40
Shares

चितवन । राजधानी बाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भइरहँदा काम कारवाही प्रभावित भएका छन् । गत भदौयता अस्पतालमा तीन मेसु परिवर्तन भइसकेका छन् ।

अस्पतालबाट विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएसँगै डा राजन पाण्डे प्रमुख मेसु भएर आएका थिए । मङ्सिर ८ गते उनले राजिनामा दिए । अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाका अनुसार मङ्सिर ९ गते डा जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको थियो । तीन महिना नपुग्दै डा वासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ ।

बसौलाका अनुसार उनले आजदेखि कार्यभार सम्हालेका छन् । आगामी वैशाख ५ गते उमेर हदका कारण उनको अनिवार्य अवकाश हुने बताइएको छ । त्यसपश्चात् पुनःअर्को मेसु बनाउनुपर्ने हुन्छ । डा तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा भएका थिए । त्यसअघि पनि अस्पतालमा डा विश्वबन्धु बगालेले ४५ दिन, डा रवीन खड्काले चार महिना र डा कृष्ण पौडेलले आठ महिना मेसुको जिम्मेवारी बहन गरेको अस्पतालले जनाएको छ ।

पौडेल अगाडि डा रुद्र मरासिनीले भने २८ महिना प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रुपमा रहेर काम गरेका थिए । तत्कालीन समयमा अस्पताल विकास समितिको अध्यक्ष रहेका हाल वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुखको स्थायित्व नहुँदा संस्थाले प्रभावकारीरुपमा काम गर्न नसक्ने बताउँछन् । उनले भने, “कम्तीमा दुई वर्ष काम गर्न नपाए योजना बनाएर कार्यान्वयन गर्न सकिन्न ।” यसले गर्दा अस्पतालले गर्नुपर्ने जति विकास गर्न नसक्ने उनको भनाइ छ । आफूले सम्बन्धित मन्त्रालयमा सुझाव दिएको सुवेदीले जानकारी दिए ।

दिगोरुपमा काम गर्ने वातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च बनाउन नसकिने उनको बुझाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताउँछन् । उनले भने, “हामी निर्णय गर्छौं तर कार्यान्वयन हुन सकेको छैन ।” नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकिएको उनको भनाइ छ ।

अस्पतालभित्र भौतिक संरचना निर्माण र अन्य नियमित कामसमेत प्रमुख परिवर्तन हुँदा प्रभावित हुने गरेको छ । अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ । यो अस्पताल दुई वर्षअघि सङ्घीय अस्पताल बनेको हो ।

छ सय श्यया रहेको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन् । सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइतेदेखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पतालमा हुने गरेको छ । प्रसूतिलगायतका सेवामा देशकै उत्कृष्ट मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्वसमेत गरेको थियो ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.