अस्पतालमा अपरेसन गर्दागर्दै बीचैमा डाक्टर अदालतको सुनुवाइमा उपस्थित भएपछि…

डिसी नेपाल
१७ फागुन २०७७ १०:३१
332
Shares

काठमाडौं। अस्पतालको अपरेशन थिएटरबाट बिरामीको अपरेसन गर्दागर्दै अदालतको सुनुवाइमा भर्चुअल रुपमा उपस्थित भएका एक जना प्लास्टिक सर्जन नैतिक अनुसन्धानको दायरामा तानिएका छन् । अमेरिकाको क्यालिफोर्नियाका डा. स्कट ग्रीनमाथि ट्राफिक नियम उल्लंघनको आरोप थियो । यस विषयमा जवाफ दिनका लागि अदालतका कर्मचारीले उनलाई जुममार्फत कल गर्दा उनले बिरामीको अपरेसनको काम सुरु गरिसकेका थिए ।

‘के तपाईं सुनुवाइका लागि उपलब्ध हुनुहुन्छ ?’ क्लर्कले सोधे ‘तपाई अहिले नै अपरेटिङ रुममा हुनुहुन्छ जस्तो लाग्छ ।’ यो भर्चुअल सुनुवाइ युट्युबमा पनि लाइभ प्रसारण भइरहेको थियो । ‘हो, म अहिले नै अपरेटिङ रुममा छु । म परीक्षणको लागि उपलब्ध छु, तपाइँ अगाडि बढ्न सक्नुहुन्छ’ डा. ग्रीनले जवाफ दिए । पृष्ठभूमिमा चिकित्सा उपकरणको आवाज र सक्सनको आवाज सुन्न सकिन्थ्यो । पछाडि अर्का एक व्यक्तिले अपरेसन टेबलमा बत्ती मिलाउँदै थिए ।

अदालतको सुनुवाइ कोभिड–१९ को प्रोटोकल अनुसार लाइभ–स्ट्रिमिङमार्फत भइरहेको थियो । न्यायाधीश गेरी लिंकले त्यहाँ के भइरहेको छ भन्ने थाहा पाएपछि तत्कालै सुनुवाइ स्थगित गरेका छन् । पछि डा. ग्रीनसँग यसरी बिरामीको अपरेसन गर्दागर्दै अदालतमा उपस्थित हुनुलाई गल्ती गरेको महसुस हुन्छ कि हुँदैन भनेर सोधिएको थियो । जवाफमा डा. ग्रिनले त्यहाँ बिरामीको अपरेसनको लागि अर्का एक सर्जन पनि उपलब्ध भएको र आफूले अदालतलाई जवाफ दिँदासम्म ती सर्जनले बिरामीको अपरेसन जारी राख्न सक्ने परिस्थिति भएको बताए ।

यस विषयमा डा. ग्रीनले माफी मागेका छन् तर मेडिकल बोर्ड अफ क्यालिफोर्नियाले यसबारे अनुसन्धान गर्ने बताएको छ। ‘बोर्डले चिकित्सकहरूबाट आफ्ना बिरामीहरूको उपचार गर्दा उपचारको मापदण्ड पालन गरियोस् भन्ने अपेक्षा गर्दछ’ बोर्डले एउटा बयानमा बतायो । महामारीका क्रममा भइरहेको भर्चुअल सुनुवाइमा यस्तो घटना यसअघि पनि भएको थियो । फेब्रुअरीको सुरुमा टेक्सासका वकिल रड पोन्टनले आफ्नो अनुहारमा बिरालोको फिल्टर हटाउन नसक्दा उनको उपहास भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *