४१ वर्षका छोराले आमाबुवाविरुद्ध मुद्दा हालिदिए, जीवनभरको लागि हर्जाना मागे

डिसी नेपाल
२५ फागुन २०७७ १२:५५
5.9k
Shares

काठमाडौं। ४१ वर्षका एक व्यक्ति विगत केही वर्षदेखि बेरोजगार छन् र अब उनले आफ्ना मातापिताविरुद्ध नै मुद्दा हालिदिएका छन् । अक्सफोर्ड जस्तो प्रतिष्ठित विश्वविद्यालयबाट वकालतको अध्ययन गरेको हुँदाहुँदै पनि यी व्यत्तिः विगत १ वर्षदेखि बेरोजगार छन् । फैज सिद्दिकी नामका यी व्यक्तिले आफू आफ्ना मातापितामाथि निर्भर रहेको दावी गर्दै जीवनभरको लागि हर्जाना मागेका हुन् ।

डेलीमेलका अनुसार फैजले अक्सफोर्ड विश्वविद्यालयबाट डिग्री हासिल गरिसकेका छन् र वकालतको प्रशिक्षण पनि लिइसकेका छन् । यति हुँदाहुँदै पनि उनले आफ्ना मातापिताविरुद्ध नै मुद्दा हालिदिएका छन् र आफ्ना मातापिताले आफूलाई जीवनभर आर्थिक समर्थन गरिरहनुपर्ने माग गरेका छन् । फैजका मातापिता दुबइमा बस्छन् । उनीहरुको लण्डनमा एउटा फ्ल्याट छ र यो फ्ल्याटमा फैज विगत २० वर्षदेखि भाडा नतिरी बस्दै आएका छन् । लण्डनको हायडी पार्कमा रहेको यो फ्ल्याटको मूल्य १ मिलियन पाउण्ड (१६ करोड रुपैयाँ) भन्दा धेरै पर्छ ।

फैजकी आमा रक्षंदा ६९ वर्षकी छिन् भने उनका पिता जावेद ७१ वर्षका छन् । उनीहरु अहिले आफ्ना छोरालाई हरेक हप्ता ४०० पाउण्ड अर्थात करिब ६५ हजार रुपैयाँ पठाउँछन् । एक महिनामा उनीहरुले करिब २ लाख ६० हजार रुपैयाँ फैजलाई पठाउँछन् । यसका अलावा उनीहरु फैजका बिलको पैसा पनि तिरिदिन्छन् । अब भने फैज र उनका मातापिताबीच तनाव र झगडाका कारण उनीहरु फैजलाई आर्थिक समर्थन गर्न चाहँदैनन् ।

फैजले भने बाल्यकालदेखि नै आफ्नो खराब स्वास्थ्यका कारण आफ्नो पढाइ र करिअरमा धेरै नै नोक्सानी पुगिसकेको बताउँदै आफू आर्थिक समर्थनको हकदार भएको दावी गरेका छन् । उनले आफ्ना मातापिताले आफूलाई आर्थिक समर्थन नगरेमा यो आफ्नो मानव अधिकारको उल्लंघन हुने उनले दावी गरेका छन् । रक्षन्दा र जावेदका वकिल जस्टिन वार्साले भने फैजका मातापिताले कैयौं वर्षदेखि छोराका मागहरु झेलिरहेको बताउँदै अब उनीहरुले यसो गर्न नचाहेको बताएका छन् ।

यसअघि २०१८ मा फैजले अक्सफोर्ड विश्वविद्यालयविरुद्ध नै मुद्दा हालिदिएका थिए । उनले विश्वविद्यालयबाट १ मिलियन पाउण्डको माग गरेका थिए । उनले अक्सफोर्ड विश्वविद्यालयमा पढाइको स्तर राम्रो नभएकोले आफूले एक अमेरिकी शीर्ष कानुन कलेजमा भर्ना नपाएको दावी गरेका थिए । फैजको यो मुद्दा अदालतले भने अस्वीकार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *