सेल्फीले लियो ३ सय ३० जनाको ज्यान !

डिसी नेपाल
२७ फागुन २०७७ १०:३७
376
Shares

काठमाडौं। पछिल्लो समय विश्वभरीका मानिसहरु, विशेष गरी युवा पुस्तामा सेल्फी लिने क्रेज बढ्दै गइरहेको छ । तर, यो क्रेजले धेरै मानिसहरुको ज्यान पनि लिइरहेको छ । सेल्फी लिने क्रममा अहिलेसम्म विश्वभरी ३ सय ३० जनाको मृत्यु भइसकेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । एक दशकयता प्रत्येक वर्ष सेल्फी लिने क्रममा भीरबाट खसेर, बिजुलीको करेन्ट लागेर वा पानीमा डुबेर कैयौंको मृत्यु भइरहेको छ ।

पछिल्लो समय विज्ञहरुले यस प्रकारका मृत्युहरु घटाउन जोखिमपूर्ण ठाउँहरुलाई ‘नो सेल्फी जोन’ घोषित गर्नुपर्ने आवाज पनि उठाएका थिए । द सनको रिपोर्टअनुसार सेल्फी लिने क्रममा सबैभन्दा धेरै मृत्यु भएको देश भारत हो । यहाँ अहिलेसम्म सेल्फी लिने क्रममा १७६ जनाको मृत्यु भइसकेको छ भने अमेरिकामा २६ जना र रुसमा १९ जनाको मृत्यु भइसकेको छ ।

स्थानको कुरा गर्दा सेल्फी लिने क्रममा सबैभन्दा धेरै मृत्यु वा घाइते हुने ठाउँ रेलवे लाइन देखिएको छ । अहिलेसम्म करिब ६२ जना मानिसहरु रेलवेमा सेल्फी लिने क्रममा मरेका वा घाइते भएका छन् । ३८ जना भीरमा दुर्घटनामा परेका छन् भने २४ जना नदीमा परेका छन् । विश्वभरी भएका घटनाको मिडिया रिपोर्टका आधारमा इंकिफी डटकमले तयार पारेको तथ्यांकमा यो खुलासा भएको छ ।

यसै वर्षको सुरुवातमा भारतमा एक युवतीको सेल्फी लिने क्रममा अर्का एक व्यक्तिले अन्जानमै धक्का दिएपछि नदीमा डुबेर मृत्यु भएको थियो । उनलाई धक्का दिने व्यक्तिले पनि सेल्फी खिच्दै थिए । यसै क्रममा ती व्यक्ति एक कदम पछाडि हट्दा निरुपमा प्रजापति नामकी ती युवतीलाई धक्का लागेपछि उनी नदीमा खसेकी थिइन् । २०१७ मा २१ देखि २८ वर्ष उमेरका ८ जना युवाहरु सामूहिक सेल्फी खिच्ने क्रममा भारतको नागपुर नजिकै एक रिजभ्र्वायरमा डुबेर मरेका थिए ।

यस्तै राजस्थानमा सेल्फी लिने क्रममा गौरी धाम कुण्डमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । भारतमै चेन्नइमा एक बेकरीमा आगो लागेका बेला सेल्फी खिच्ने क्रममा ४८ जना घाइते भएका थिए । भीरको छेउ पनि सेल्फीका लागि लोकप्रिय छन् तर यी ठाउँमा पनि ठूलो संख्यामा मृत्यु भएका छन् । गत वर्षको अन्त्यतिर ब्राजिलका २२ वर्षका गुइलहेर्मे चियापेट्टी क्याचोएरिया डा ओन्कामा सेल्फी खिच्ने क्रममा गम्भीर घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.