म्यानमारमा सेनाले गोली हान्न आदेश दिँदा प्रहरीले मानेनन्, प्रहरीहरु देश छाडेर भाग्न थाले
काठमाडौं। म्यानमारमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जामा लिएको सेनालाई देशका प्रहरीले नै साथ दिन छाडेका छन् । प्रहरीहरुले सेनाविरुद्ध नै विद्रोह गर्न सुरु गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार सेनाले प्रदर्शनकारीहरुमाथि गोली चलाउन आदेश दिँदा प्रहरीहरुले अस्वीकार गर्न थालेका छन् । यसरी सेनाको आदेश अस्वीकार गर्ने प्रहरी अधिकारी र जवानहरुले देश छाडेर भागेका छन् र उनीहरुले भारतमा शरण लिएका छन् ।
रिपोर्टअनुसार २७ फेब्रुअरीमा म्यानमारको खामपत शहरमा था पेंग नामका प्रहरी जवानलाई प्रदर्शनकारीहरुमाथि गोली चलाउन आदेश दिइएको थियो । तर, उनले सेनाको आदेश मान्न अस्वीकार गरे । म्यानमारको प्रहरीमा लान्स कर्पोरल पदमा रहेका उनलाई भोलिपल्ट पुनः बोलाएर उनले गोली चलाउँछन् कि चलाउँदैनन् भनेर सोधियो । यस पटक पनि उनले अस्वीकार गरे । त्यसपछि उनले जागिरबाट राजीनामा दिएर १ मार्चका दिन भागे । उनले सीमा पार गरेर भारतको पूर्वी राज्य मिजोरम आएर शरण लिएका छन् ।
पेंगले रोयटर्ससँग कुरा गर्दै म्यानमारको सेनाबाट बच्नको लागि उनले ३ दिनसम्म रातको समयमा यात्रा गरे । उनले भने ‘मसँग अरु कुनै विकल्प थिएन ।’ उनले आफ्नो पहिचानको रक्षाको लागि आफ्नो आधा नाम मात्रै बताए । रोयटर्सले उनको प्रहरीको परिचय पत्र देखेको पुष्टि गरेको छ । पेंगका अनुसार उनीसहित अन्य ६ जना सहकमीृहरुले २७ फेब्रुअरीका दिन एक बरिष्ठ अधिकारीको आदेश मान्न अस्वीकार गरेका थिए । उनले आदेश दिने अधिकारीको नाम भने बताएनन् ।
भारतको मिजोरम राज्य प्रहरीले तयार गरेको आन्तरिक क्लासिफाइडका अनुसार अन्य एक लान्स कर्पोरल र तीन कन्स्टेबलले पनि आदेश मान्न अस्वीकार गरेको पाइएको छ । आदेश अस्वीकार गरेपछि उनहिरु भारतीय क्षेत्रमा आएर शरण लिएका छन् । म्यानमारमा सत्ता कब्जाविरुद्ध प्रदर्शन जारी छ । अहिलेसम्म ६० भन्दा बढी प्रदर्शनकारी मारिएको बताइएको छ । एक बरिष्ठ भारतीय अधिकारीका अनुसार म्यानमारबाट सीमा पार गरेर सयभन्दा धेरै मानिस भारत आएका छन् । यीमध्ये धेरैजसो प्रहरी र उनीहरुका परिवार छन् ।







डिसी नेपाल








Facebook Comment