खुल्लामञ्जमा रहेकाे अस्थायी बसपार्क सारिँदै

डिसी नेपाल
३ चैत २०७७ ८:४९
4
Shares

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ। विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ।

बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो। केही सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको र केहीको अन्तिम चरणमा रहेकाले खुलामञ्च खाली गर्न सहज भएको कामपाको भनाइ छ।

कामपाले एक महिनाअघि पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको थियो। अहिले भने बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम थालेको छ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले बाँकी सामग्री र संरचना हटाउन थालिएको प्रवक्ता डङ्गोलको भनाइ छ।

तत्काल अन्य संरचना हटाउँदै जाने र बसपार्कका विषयमा स्थानको पहिचान गरेर शुरु गरिनेछ । पाँच वर्षअघि बसपार्क रहेको स्थानमा हाल काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम भइरहेको छ।

उक्त टावर निर्माणको कामले गति लिन नसक्दा स्थायीरूपमा बसर्पाक सञ्चालन गर्न समस्या भएको हो। उक्त टावर पाँच वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै शुरुआत भए पनि अहिलेसम्म निर्माणको काम नगण्य मात्र भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.