यस्तो देश जहाँ बालबालिकाको शिर काटिँदैछ

डिसी नेपाल
५ चैत २०७७ १७:५६
3.4k
Shares

मापुटो (एजेन्सी)। एक अन्तर्राष्ट्रिय संस्थाले अफ्रिकी देश मोजाम्बिकमा बालबालिकाको शिर काटिएको बताएको छ। उसले मोजाम्बिकको काबो डलगाडो प्रान्तमा यस्तो अमानवीय घटना भइरहेको जनाएको छ।

समाचार अनुसार त्यहाँ ११ वर्षसम्मका बालबालिकाको शिर काटिएको छ। गैर सरकारी संस्था सेभ द चिल्ड्रेनसँग एक आमाले आफ्ना १२ वर्षीय छोरोको शिर काटिएको जानकारी दिएकी छन्। उनले आफ्नो छोरोको शिर काटिएको दृश्य आफूले देखेको र आफू त्यतिबेला अरु बालबालिकासँग लुकेर बसेको बताएकी छन्।

मोजाम्बिकमा २०१७ देखि शुरु भएको विद्रोहमा हालसम्म २५०० भन्दा धेरै मानिसहरु मारिएका छन्। र करिब ७ लाख मानिसहरु विस्थापित भएका छन्।

इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थीको संलग्नता काबो डेलगाडो हिंसामा रहेको बताइएको छ। आफ्नो प्रतिवेदनमा सेभ द चिल्ड्रेनले यो हिंसाका पछाडि कसको हात छ भन्ने खुलाएको छैन तर त्यहाँबाट विस्थापित भएका मानिसहरुले नृशंस घटनाबारे जानकारी दिएको बताएको छ। तान्जानियासँग सीमा जोडिएको काबो डलगाडो प्रान्तमा ग्यासको भण्डार छ।

एक आमाले सेभ द चिल्ड्रेनसँग भनेकी छन्, उनका छोराको शिर उनकै अगाडि काटियो। उनले भनेकी छन्, ‘त्यो रात हाम्रो गाउँमा आक्रमण भएको थियो, हाम्रा घरहरु जलाइयो। आक्रमण हुँदा म चार छोराछोरीसँगै घरमा थिएँ। हामी जंगलमा भाग्यौं। तर हाम्रो ठूलो छोरालाई उनीहरुले समाते। र उसको शिर काटिदिए। हामीले केही गर्न सकेनौं।’

एक अर्की महिलाले पनि आफ्नो छोरालाई चरमपन्थीले मारिदिएपछि आफूहरु विस्थापित हुन बाध्य भएको बताएकी छन्।

मोजाम्बिकस्थित सेभ द चिल्ड्रेनका निर्देशक चान्स ब्रिग्सले बालबालिकामाथि आक्रमणको घटनाहरुले आफूहरु निकै दुःखी बनाएको बताएका छन्। उनले बालबालिकामाथिको घटनाबारे महिलाले सुनाउँदा सेभ द चिल्ड्रेनका कर्मचारीहरु सबै रोयएको समेत बताएका छन्।

स्थानीय रुपमा यो चरमपन्थी संगठनलाई अल शबाबको नामबाट चिनिन्छ। अरबीमा यसको अर्थ युवा हुन्छ। यसैबाट अनुमान गर्न सकिन्छ, काबो डेलगाडोको मुस्लिम क्षेत्रमा रहेका धेरै जसो बेरोजगार युवाहरुले यो संगठनलाई समर्थन गर्छन्।

अल शबाब नामबाट एक संगठन सोमालियामा एक दशकदेखि सक्रिय छ। मोजाम्बिकभन्दा फरक यो संगठन अल कायदासँग जोडिएको छ। मोजाम्बिकको अल शबाब इस्लामिक स्टेटसँग जोडिएको छ।

इस्लामिक स्टेटले यी विद्रोहीलाई उसले भन्ने गरेको सेन्ट्रल अफ्रिका प्रोभिन्सको एक प्रान्तको एक अंग बताउने गरेको छ। गत वर्ष इस्लामकि स्टेटले केही तस्वीर सार्वजनिक गरेको थियो। जसमा काबो डलगाडोस्थित लडाकुहरुको हातमा एके ४७ राइफल्स र रकेटबाट चलाइने ग्रिनेड देखिएको थियो। यी तस्वीहरुले आतंकवाद विरोधी विशेषज्ञहरुलाई सतर्क बनाएको थियो।

सेभ द चिल्ड्रेनका चांस ब्रिग्सले चरमपन्थीको उद्देश्य के हो ? भन्ने थाहा पाउन मुस्किल भएको बताएका छन्। यो संगठनबारे कुनै दस्तावेज नभएकाले उनीहरुबारे जानकारी पाउन नसकिएको बताइएको छ।

मोजाम्बिक सरकारले यो चरमपन्थी संगठनविरुद्ध सैन्य कारबाहीको रणनीति बनाएको छ। तर, त्यहाँको सेना भने परिचालन हुन अन्इच्छुक देखिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.