वाइडेनको चीन नीतिः पहिलो बैठकमै चर्काचर्की
वाशिङ्टन (एजेन्सी)। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा इतिहासमै बेइजिङ र वाशिङ्टनबीचको सम्बन्ध तल्लो स्तरमा पुगेको थियो। ट्रम्पलाई पराजित गर्दै जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि विदेश मामिलामा निकै अनुभवी बाइडेनले चीनसँगको सम्बन्ध सन्तुलित बनाउने अपेक्षा गरिएको थियो।
तर, वाइडेनले अमेरिकी सत्ता सम्हालेपछि अमेरिका र चीनका उच्च अधिकारीबीच भएको पहिलो वार्ताले सकरात्मक संकेत भने दिएन। पहिलो पटक उच्च कूटनीतिक स्तरको वार्तामा दुबै पक्षबीच चर्काचर्की भएको छ। यो चर्काचर्कीलाई ‘असामान्य’ भनिएको छ।
अलास्कामा भएको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले साइबर आक्रमण, दबावपूर्ण आर्थिक नीति तथा मानवअधिकारको विषयलाई लिएर चीनको आलोचना गरेका थिए। चीनका स्वेच्छाचारी व्यवहारका कारण विश्वव्यापी स्थिरता कायम गर्ने नियमहरू जोखिममा परेको उनले बताएका थिए।
प्रत्युत्तर दिँदै चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जियचीले वाशिङ्टनले आफ्नो शक्तिको प्रभावमा अन्य देशहरूलाई दबाउने गरेको आरोप लगाए। उनले अमेरिकाभित्र मानवअधिकारको अवस्था तल्लो बिन्दुमा पुगेको भन्दै अश्वेत अमेरिकीहरूको हत्या भइरहेको आरोप लगाए।
अलास्काको एङ्करेज सहरमा भएको उक्त बैठकमा भएको चर्काचर्की सञ्चारमाध्यमका प्रतिनिधिहरूले प्रत्यक्ष देखेका थिए। एक घण्टासम्म विवाद चलिरह्यो।
शुक्रवार पनि बैठक जारी रहनेछ।
सो बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिङ्कन तथा राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन अनि चिनियाँ विदेशमन्त्री वाङ यी तथा चीनका सबभन्दा वरिष्ठ विदेश नीतिसम्बन्धी अधिकारी याङ जियची सहभागी थिए।
उच्च स्तरीय कूटनीतिक वार्तामा सार्वजनिक रुपमै यसरी चर्काचर्की भएको यो पहिलो घटना भनिएको छ। विभिन्न सञ्चार माध्यमहरुले शीत युद्धको अवस्थामा रहेको अमेरिका–चीन सम्बन्ध तत्काल सुधारको दिशामा नजाने संकेतका रुपमा यो बैठकलाई बुझेका छन्। बाइडेन प्रशासनले बेइजिङसँग कडा रवैया अपनाउने सकेतका रुपमा योघटनालाई हेरिएको छ।
यो चर्काचर्की बहसपछि अमेरिकी प्रतिनिधिहरुले चिनियाँ प्रतिनिधिहरुले प्रोटोकल तोडेको आरोप लगाएका छन्। वार्ताका क्रममा विषयमा बोल्ने दुई मिनेटको समय दिइने गरिए पनि चिनियाँ प्रतिनिधिहरुले बीचमै कुरा काटेको अमेरिकी प्रतिनिधिले आरोप लगाएका छन्। उनले चिनियाँ प्रतिनिधिहरुले तमाशा देखाएकोसमेत बताएका छन्।
उता चिनियाँ प्रतिनिधिहरुले भने अमेरिकी प्रतिनिधिहरुले प्रोटोकल तोडेको आरोप लगाएका छन्। तनावपूर्ण भए पनि वार्ता भने जारी रहने अमेरिकी प्रतिनिधिहरुले बताएका छन्।







डिसी नेपाल








Facebook Comment