चाल्नाखेल जंगलमा भेटिएका दुबै शव १० कक्षामा अध्ययनरत विद्यार्थीको
काठमाडौं। दश कक्षामा पढ्ने विद्यार्थीको शव एकै ठाउँमा फेला परेपछि प्रहरीले उनीहरुको मृत्युबारे अनुसन्धान शुरु गरेको छ। काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव दश कक्षा पढ्ने विद्यार्थीको भएको पुष्टि भएपछि उनीहरुको मृत्युबारे अनुसन्धान शुरु गरको हो। शुक्रवार दक्षिणकाली चाल्नाखेल खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो। मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो।
नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए। नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे। काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मै पढ्थे। उनीहरु एकदमै मिल्ने साथी भएको उनीहरुका परिवारले प्रहरीलाई जानकारी दिएको छ।
दुई विद्यार्थीको शव भेटिएको स्थानमा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपीसहितको टिम पुगेर मुचुल्का गरेको थियो। अहिले उनीहरुको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ। उनीहरुको शव पहिचानपछि तालिमप्राप्त कुकुरलाई अनुसन्धानमा प्रयोग गरिएको परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए। खहरेस्थित जंगलमा डाँडा वारी–पारी दुई जनाको शव फेला परेको थियो ।
अर्जुनका दाइले प्रहरीलाई बताए अनुसार उनीहरु बिहीबार बिहान १० बजेबाट हराएका थिए। उनीहरु साथीको घर जान भनेर हिडेपछि घर फर्केका थिएनन्। प्रहरीका अनुसार शव भेटिएको नजिकै विषादीको बट्टा भेटिएको छ। तर त्यो विषादी उनीहरुले नै प्रयोग गरेको हो भन्ने एकिन नभएको प्रहरीको दावी छ। ‘विषादीको बट्टा फेला परेको छ तर पोष्टमार्टमको रिपोर्ट नआई यसै भन्न सकिने अवस्था छैन’, एसपी बस्नेतले भने।







डिसी नेपाल







Facebook Comment