सत्ता होइन व्यवस्था जोगाउनु महत्वपूर्ण हो, व्यवस्था बचे सत्ता पटक पटक आउँछ : रामचन्द्र पौडेल
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको चुनौती व्यवस्था जोगाउनु रहेको बताएका छन्। उनले व्यवस्था रहे पटक पटक सत्ता प्राप्त गर्न सकिने भन्दै काँग्रेस व्यवस्था जोगाउन केन्द्रित हुनुपर्ने बताए।
नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा शनिबार पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘आफ्नौ मौलिकता नबुझेपछि दुःख हुन्छ। अहिले कतै कांग्रेसले आफ्नो मौलिकता विर्सेर दुःख पाएको हो कि भन्ने मलाई लागेको छ। कांग्रेसले क्रान्तिको सुरुवात श्रमको सम्मान गर्ने आन्दोलन थालेर भएको थियो। विराटनगरको मजदुर आन्दोलन होस किन पहाडमा ब्राम्हणले हलो जोत्न सुरु गरेको होस, यी दुवै श्रमको सम्मान गर्ने आन्दोलन हुन्।’ यो सन्देशलाई र यो मौलिकतालाई कांग्रेसले अहिले भुलेर दुःख पाएको हो कि जस्तो लागेको उनले बताए।
उनले काँग्रेसले आफ्नो पहिचान विर्सेर भड्किरहेकोसमेत बताए। उनले भने, ‘२०१५ सालमा आफ्ना मौलिकता अगाडि सारेर दुईतिहाई मत ल्याएको थियो। तर जति पछि भयो त्यती आफ्ना एजेण्डालाई कांग्रेसको पहिचानलाई भुल्न लागेकाले कमजोर भएको हो। कांग्रेसले अब एकपटक आत्मासमिक्षा गर्न जरुरी छ।’
नेता पौडेलले भने, ‘कांग्रेस समान्तवादका विरुद्ध, शोषणका विरुद्धमा जन्म भएको हो। ठालुतन्त्रका विरुद्धमा कांग्रेस जन्मेको हो। निमुखा अन्यायमा परेका जनताको आवाज हो भनेर कांग्रेसको जन्म भएको थियो। यो मौलिकता धानेर राख्न सकेको भए हामीसंग प्रतिष्पर्धामा आउन नै सक्दैनथे। अहिले कम्युनिष्ट बढेका हैनन् कांग्रेस घटेको हो। हामीले हाम्रा एजेण्डा छोड्दै जाने कम्युनिष्टहरुले समात्दै जाने भयो। अनि हामी घट्दै गयौंं।
गिरिजाबारे बोल्दै नेता पौडेलले भने, ‘गिरिजाबाबुले प्रतिनिधिसभा पुनःस्थापनाभन्दा अरु विकल्प देख्नुभएको थिएन। यही मात्रै हो जनताको हातमा अधिकार जनताको हातमा सत्ता आउन जनताको सत्ता आउनुपर्छ भन्नेमा गिरिजाबाबु हुनुभयो। संसद पुनःस्थापना भएपछि सार्थक बनाउने काममा कांग्रेसले अग्रसरता लियो। त्यही प्रतिनिधिसभाबाट आज राजा हटायो। समावेशी लोकतन्त्र र संघीय गणतन्त्रको जग बसालेको हो।’
पौडेलले अगाडि थपे, ‘अहिले प्रतिनिधिसभा पुनःस्थपनाका बारेमा मतान्तर भयो। केहि पुनःस्थापनाको पक्षमा वकालत गरियो। केहि साथीहरुले चुनाव नै महत्वपूर्ण हो। चुनाव भन्ने साथीहरुले अदालतका बारेमा बोल्नुहुँदै भनेर भन्नुभयो। तपाइँहरुले दुईवटा कुरा आए भन्नुभयो। हो दुईवटा कुरा आएपछि कांग्रेसका कार्यकर्ताहरुले जजमेन्ट गर्नुपर्यो। दुईवटा विषय आएपछि जजमेन्ट कांग्रेसका कार्यकर्ताहरुले कुन विचार ठिक थियो भनेर गर्नुपर्यो।’
अदालतले पुनःस्थापना गरिदिएपछि पनि चुनाव भन्ने सुनिन थालेको भन्दै उनले अहिले संसदीय वव्यवस्था असफल बनाउने कोशिश भइरहेका बताए। उनले भने, ‘संसदीय व्यवस्था हाम्रो आर्दश हो। कम्युनिष्ट र दक्षिणपन्थीहरु संसदीय व्यवस्थाका विरुद्धमा छन्। दक्षिणपन्थीहरु संसदीय व्यवस्थालाई विदेशीको व्यवस्था भन्छन्, कम्युनिष्टहरु संसदीय प्रणालीलाई वुर्जवा व्यवस्था भन्छन्। संसदीय प्रणाली त कांग्रेसको आर्दश हो। अहिले यो संसद र संसदीय प्रणालीलाई बचाएर जानुपर्छ।’
उनले अहिलेको प्रहार संसदीय व्यवस्थामाथि प्रहार भएको भन्दै उनले यसलाई मलजल गर्ने कि निस्तेज बनाउन लाग्ने हो भनी प्रश्न गरे। उनले भने, ‘अहिले पनि कोसिस गर्नेलाई पाखा लगाउने प्रयासमा कांग्रेस लाग्नुपर्छ कि पर्दैन् ? लोकतन्त्र बचाउने काममा कांग्रेस लाग्नुपर्ने हो कि होइन ?’
उनले अगाडि थपे, ‘अहिले पनि हाम्रा साथीहरु चुनाव चुनाव नै भन्दै हुनुहुन्छ। संसद विघटन गर्ने कुनै अधिकार नै छैन। फेरि किन मंसिरमा चुनाव भनिदैछ? हामीले अहिले चुनाव हैन यही संसदलाई उपयोग गरेर यो व्यवस्था जोगाउने हो। अदालतको फैसलाले फेरि पाँच वर्ष नपुगी संसद फाल्न दिदैन्। अनि फेरि किन मंसिरमा वा फागुनमा चुनाव भन्दै हिडेका छौ हामी नै ?’







डिसी नेपाल







Facebook Comment