भक्तपुरमा सिलिण्डर पड्किदा ६ जना घाइते

डिसी नेपाल
९ चैत २०७७ १४:३०
248
Shares

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो। आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडाैँ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिए।

त्यस्तै खाजा खान आएका घाइतेमध्ये झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापाको मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि बर्न सेन्टरमै पठाइएको उनले जानकारी दिए। आगलागीबाट पसलमा रहेका दुई थान फ्रिज, झ्याल, ढोका र भाँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.