सप्तरी प्रिमियर लिग : तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी

डिसी नेपाल
९ चैत २०७७ १८:१९
104
Shares

राजविराज । तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सोमबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी जायन्टस र टिभीएस किंग्स राजविराज विजयी भएको छ । सोमवार राज रंगशालामा भएको पहिलो खेलमा राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको तिलाठी कोइलाडी जायन्टसले विवेक यादवको कप्तानीमा रहेको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ । खेलमा बजाज खडक वारियर्सले दिएको १०० रनको लक्ष्य तिलाठी कोइलाडी जायन्टसले १७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेकाे थियाे । तिलाठीका लागि ओपनर आशिष झाले ५० बलमा ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाएका थिए । दिपेश कंडेलले १३ रनमा अविजित रहदा कप्तान दिपेन्द्र सिंह ऐरीले मात्र १ रन बनाएका थिए । बलिङमा बजाज खडक वारियर्सका भुलावन सहानीले सर्वाधिक ३ विकेट लिदा अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिएका थिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.३ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो । वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४–१४ तथा पप्पु यादवले १० रन बनाएका थिए । तिलाठी कोइलाडीका लागि बलिङमा दायाँहाते फास्ट बलर आदील अन्सारीले ३.३ ओभरमा २० रन खर्चिएर सर्वाधिक ४ विकेट लिदा राशिद खान र दिपेश कंडेलको नाममा समान २–२ विकेट रहयो । दुवै बलरले ४ ओभरमा मात्र १३ रन खर्चेका थिए । कप्तान दिपेन्द्र सिंह ऐरी र मनिष मण्डलकाे नाममा  १–१ विकेट रहयो । खेलको ‘प्लेयर अफ द म्याच’ तिलाठी कोइलाडीका आशिष झाले पाए ।

सोमवारनै भएको दोश्रो खेलमा टिभीएस किंग्स राजविराजले बोदे बर्साईन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्यो । टिभीएस किंग्स राजविराजले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिंग गरेको बोदे बर्साईनले मात्र ४ रन बनायो । ५ रनको लक्ष्य टिभीएस किंग्सले ३ बलमा लक्ष्य भेटायो । बोदे बर्साईन थन्डर्सको ब्याटिङमा योगेन्द्र सिंह कार्कीले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाएका थिए । यस्तै अविनाश कर्णले ४३ बलमा ४ चौका मद्दतले ४२ रन बनाउदा नारायण जोशीले २२ र अमित दासले १७ रन बनाएका थिए । टिभीएस किंग्सका लागि बलिङमा रोहित सिंह र दिनेश अधिकारीले समान २–२ विकेट तथा मेहबुब आलम र सुरज कुर्मीले समान १–१ विकेट लिएका थिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएकाे थियाे । टिभीएस किंग्सका लागि दिनेश अधिकरीले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रनको अर्धसतकीय पारी खेलेका थिए । सोनु अन्सारीले ३० रन, सुरज प्रसाद कुर्मीले २५ रन, प्रशान्त सिंहले २१ रन र रोबिन सिंहले अविजित १० रनकाे याेगदान दिएका थिए । कप्तान मेहबुब आलम खाता नखोली आउट भए । बोदे बर्साईन् थन्डर्सको लागि बलिङ बिशाल सुश्लिंग, बसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच दिनेश अधिकारी भए ।

लिग अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछ । बिहान ९ बजे हुने पहिलो खेलमा रुपनी राईडर्स र तिलाठी कोइलाडी जायन्टस तथा दिउसो १ बजे सुरु हुने दोश्रो खेलमा बोदे बर्साईन् थन्डर्स र बजाज खडक वरियर्सबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.