अमेरिकामा फेरि गोलीकाण्ड, दिउँसै गोली हानेर प्रहरीसहित १० को हत्या

डिसी नेपाल
१० चैत २०७७ १०:३२
1.0k
Shares

वाशिङ्टन डिसी (बीबीसी)। अमेरिकामा कोलोराडो राज्यको बोल्डर सहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएका छन्। एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए।

गोली चल्न थालेपछि आफू जोगिन भागाभाग गर्नुपरेको मानिसहरूले बताएका छन्। माथिबाट खिचिएको दृश्यमा खुट्टा रगतपच्छे भएका एक व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर लगिरहेको देखिन्छ।

प्रेस सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एकजना सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन्। उक्त घटना स्थानीय समय दिउँसोको साढे दुई बजेतिर भएको थियो।

ती सन्दिग्ध व्यक्तिले किङ सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए। सो घटनालाई प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभ स्ट्रीमिङ गरेका थिए।

गत महिना राष्ट्रपति जो बाइडनले हतियार खरिद गर्न चाहनेहरूको पृष्ठभूमिबारे कडाइपूर्वक जाँच गर्नेगरी कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए। केही दिनअघि मात्र एटलान्टामा २१ वर्षका १ युवकले मसाज सेन्टरमा आक्रमण गरेर ६ एसियाली महिलासहित ८ जनाको हत्या गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.