भारतलाई अमेरिकाको कडा चेतावनी

डिसी नेपाल
१५ चैत २०७७ १३:२१
9.1k
Shares

काठमाडौं। अमेरिकी डिजिटल इकमर्स कम्पनीहरुलाई २ प्रतिशत डिजिटल सेवा शुल्क लगाउने तयारी गरिरहेको भारतलाई अमेरिकाले कडा चेतावनी दिएको छ । अमेरिकी व्यापार प्रतिनिधि (युएसटिआर)ले आफ्नो देशका प्रविधि कम्पनीहरुमाथि डिजिटल सेवा शुल्क लगाएका वा लगाउने तयारी गरिरहेका भारतसहितका ६ देशविरुद्ध उल्टै जवाफी व्यापार कारवाही गर्न लागेको हो ।

बिजनेस स्टान्डर्डका अनुसार युएसटिआरले भारतसहित ६ देशहरुविरुद्ध प्रस्तावित व्यापार कारवाहीको सन्दर्भमा सूचना जारी गरेर सार्वजनिक टिप्पणी मागेको छ । अमेरिकाले कथित डिजिटल करको मुद्दामा भारत, इटली टर्की जस्ता देशहरुको आलोचना गरेको छ । युएसटिआरले भारत, इटली र टर्कीले डिजिटल कर लिनु अमेरिकी डिजिटल कम्पनीमाथि भेदभावपूर्ण भएको भनेको छ ।

युएसटिआरले भारतबाट अमेरिका आयात गरिने बासमती चामल, समुद्री खानेकुरा, गहना, बाँस, अर्ध बहुमूल्य पत्थरहरु तथा मोती लगायतका वस्तुहरुमा व्यापार स्तरको २५ प्रतिशतसम्म कर लगाउने प्रस्ताव गरेको छ । यसरी अमेरिकाले भारतबाट हुने आयातमा करिब ५५ मिलियन डलर उठाउनेछ । यो रकम भारतले अमेरिकी कम्पनीमाथि २ प्रतिशत डिजिटल सेवा शुल्क लगाएर उठाउने रकमको बराबरीजस्तै हुन आउँछ ।

युएसटिआरको यो चेतावनीपछि भारत सरकारका सूत्रले शनिबार भारतले प्रस्तावित कारवाहीका सरोकारवालाहरुसँग समीक्षा गर्ने बताएको छ । त्यसपछि भारतले देशको व्यापार र वाणिज्यहित तथा जनताको हितको आधारमा उचित उपाय गर्ने बताइएको छ । भारतले २०१६ मा विदेशी इकमर्स कम्पनीहरुमाथि डिजिटल शुल्क लगाउन सुरु गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.