मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने

डिसी नेपाल
१६ चैत २०७७ १२:२३
156
Shares

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो। गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा काम अघि बढाएको हो।

जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्माबजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो। कुश्मास्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ।

कुश्मामा विद्युत्का पोल हटाएर मध्य खण्डमा माटो भर्ने काम भइरहेको छ। पातीचौरमा कालोपत्र गर्न सबै स्टक्चर तयार भइसकेको छ। सडक चौडा पार्ने, नाली बनाउनेलगायत पूर्वाधारका काम सबै सकिएकाले अब बेस हालेर कालोपत्र गर्न धेरै समय नलाग्ने बताइएको छ। कुश्माबजारको खरेयादेखि डम्डारेखोलासम्म चार लेनको सडक बनाउन विद्युत्का पोल, खानेपानीका पाइप र केही घर, टहरा हटाउँदा काममा ढिलो भएको थियो।

सडक विस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन्। चुवा, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भिरको पहरो फुटाएर सडक चौडा बनाइएको छ। लामा कन्स्ट्रक्सनका प्रतिनिधि राजाराम आचार्यले आउँदो जेठभित्रै पर्वतखण्ड सकिने बताए।

विसं २०७५ वैशाखदेखि शुरु भएको पर्वत खण्ड विस्तारको काम गएको भदौमा सकिनुपर्ने हो। कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ। तत्कालीन आयोजना प्रमुख आशिष थापा मगरले कास्की, पर्वत र बागलुङ खण्डमा अपेक्षित काम भएकाले अब थपिएको मितिमै काम सकिने बताए।

कुनै अवरोध र समस्या नआइ काम हुने भने पोखरादेखि बागलुङसम्मको खण्ड नयाँ स्वरुपमा बदलिने छ। मध्यपहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टेखोला सम्मको खण्डको काम सकिएको छ। हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुने बताइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.