महिलाको नेतृत्व विकासमा पुरुषको साथ चाहिन्छः मन्त्री तुम्बाहाम्फे
फाइल
जर्मनी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले महिलाहरुले आफ्नो हक अधिकार, सुरक्षा र नेतृत्व विकासमा आफैं अग्रसर हुनुपर्नेमा जोड दिएकी छन् । १ सय ११ औं महिला दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको महिला फोरमले आइतबार आयोजना गरेको “महिला सशक्तिकरणका लागि सुरक्षा, स्वावलम्बन र नेतृत्व विकास” विषयक अनलाइन गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेतृसमेत रहेकी मन्त्री डा. तुम्बाहाम्फेले महिलाको नेतृत्व विकासका लागि पुरुषहरुको साथ र सहयोगको अपरिहार्यतालाई पनि मनन गर्नुपर्ने उनको भनाइ थियो । संविधान, ऐन , नियम तथा कानुनहरुमा समाविष्ट महिला हक अधिकार तथा लैंगिक समानताका विषयहरुलाई पूर्णरुपमा कार्यन्वयन गर्न सरकार प्रतिवद्धताका साथ लागिपरेको पनि उनले जानकारी दिइन् ।
यस्तै कार्यक्रममा राज्य व्यवस्था समितिका सभापति एबं माओवादी नेतृ शशी श्रेष्ठले हरेक राजनीतिक कालखण्डमा महिलाहरुको भुमिका निर्णायक रहेको स्मरण गर्दै नेतृत्व तहमा रहेका महिलाहरूले लैंगिक असमानता विरुद्धका आवाजहरु थप बुलन्द गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा काग्रेस नेतृ एवं सांसद डा डिला संग्रौलाले समाज परिवर्तनका लागि राजनितिमा होमिएमा महिलाहरु पार्टीगत घेरावाट वाहिर आएर सहकार्य गर्नुपर्ने र ग्रामीण स्तरवाट नै महिला अधिकारसम्बन्धी जागरण अभियान संचालन गर्नुपर्ने आवश्यकता औंल्याइन् । यस्तै कार्यक्रममा संविधान सभा सदस्य तारादेवी राईले स्वावलम्बी वन्न विविध कठिनाइहरुबीच संघर्षका साथ मिहेनत गर्दै महिलाहरु आत्मनिर्भर बन्नसके समाजसँगै देश पनि अघि बढ्ने धारणा राखिन् ।
संविधान सभाका अर्का सदस्य मदन कुमारी शाह (गरिमा) ले नेपालको तराई तथा पहाडी ग्रामीण ईलाकाहरुमा अझैपनि विविध प्रकारका अमानवीय , निन्दनीय तथा निकृष्ट प्रथाहरु कायमै रहेकोले त्यसलाई निर्मुल पार्नका लागि चेतना र स्वावलम्बनको अभियान चलाउनुपर्नेमा जोड दिएकी थिइन् । सोही अवसरमा काठमाडौं महनगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले स्थानीय सरकारको नेतृत्व महिलाहरुले गर्दा आईपरेका अफ्ठ्याराहरु तथा पुरुष जनप्रतिनिधिहरुले हेर्ने दृष्टिकोणका वारेमा आफ्ना धारणा राखेकी थिइन् भने प्रहरी उपरिक्षक गंगा पन्तले नेपालमा महिला सुरक्षाको अवस्थाका वारेमा आफनो धारणा राखेकी थिइन् ।
कार्यक्रममा महिला उद्यमी तथा दक्षिण एसियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले टेम्पो चालकदेखि सफल महिला उद्यमी बन्दासम्मका उतार चढावका अनुभवहरु प्रस्तुत गरकी थिइन् । विशेष गरेर युरोपमा रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रममा, जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त , पुर्व अध्यक्ष जिवा लामिछाने , गैरआवासीय नेपाली संघ जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङ , गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका महिला संयोजक भोमा सावाँ लिम्बु, महावाणिज्यदुत राम प्रताप थापा , गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पुर्व महिला संयोजक उषा शर्मा , गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष हरि न्यौपाने , निवर्तमान अध्यक्ष विजय मोक्तान, गैरआवासीय नेपाली संघ स्विजरल्याण्डका महिला उपाध्यक्ष शुभ एल्मर लामा , पत्रकार तथा महिला अधिकारकर्मी अनुराधा पौडेल, नेपाली नारी समाज पोर्चुगलका अध्यक्ष सीता वराल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विज्ञ, पत्रकार तथा महिलाका विषयमा चासो राख्ने व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका उपाध्यक्ष राधा सिग्देल र सचिव मेनुका त्रिपाठीले संयुक्तरुपमा संचालन गरेको यो कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका अर्का उपाध्यक्ष निनम्मा राईले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रमको सभापतित्व गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका महिला संयोजक करुणा राई तुलाधरले गरेकी थिइन् ।







डिसी नेपाल







Facebook Comment