अस्पतालमा २ घण्टासम्म आगो लागिरह्यो, भित्र डाक्टरले बिरामीको अपरेशन गरिरहे
काठमाडौं। अपरेशन थिएटरमा एक बिरामीको ओपन हर्ट सर्जरी भइरहेको बेलामा अचानक अस्पतालमा आगो लागेपछि डाक्टरहरुले आफ्नो ज्यान जोखिममै राखेर बिरामीको अपरेशन पूरा गरेका छन् । यो आगो निभाउन अग्नी नियन्त्रकहरुलाई करिब २ घण्टा लागेको थियो । यस क्रममा बिरामीको ज्यान बचाउन डाक्टरहरुले आफ्नै ज्यान जोखिममा पारेका हुन् ।
बीबीसीको रिपोर्टअनुसार रुसको सुदुर पूर्वी सहर ब्लागोभेन्स्चेकमा यो आगलागी भएको हो । दमकलकर्मीहरुका अनुसार उनीहरुलाई अस्पतालको अपरेशन थिएटरमा बिरामीको अपरेशन भइरहेको जानकारी दिइएपछि उनीहरुले अपरेशन थिएटरलाई सुरक्षित राख्न सक्दो प्रयास गरे । अपरेशन थिएटरमा धुवाँ नपुगोस् भन्नका लागि पंखाको प्रयोग गरिएको थियो । आगोका कारण विजुलीका तार ध्वस्त भइसकेका थिए । त्यसैले पंखा चलाउनको लागि अर्को ठाउँबाट बिजुलीको आपूर्ति गरिएको थियो । बिरामीको अपरेशन पूरा गर्न डाक्टर र नर्स गरी ८ जनाको टिम सक्रिय थियो ।
स्थानीय सरकारका प्रमुख भासिलिय ओर्लोभले स्थिति नियन्त्रणमा आएपछि भने ‘अस्पताल र अग्नी नियन्त्रकहरुको टिमको अगाडि हामी नतमस्तक छौं ।’ १९०७ मा बनेको यो अस्पतालमा दुर्घटनाको समयमा करिब १२८ जना मानिस थिए । सबैलाई त्यहाँबाट सुरक्षित निकालियो । आगोले तत्कालै अस्पताल भवनको काठले बनेको छत जल्न थालेको थियो तर भित्र भएका कसैलाई कुनै चोटपटक लाग्न पाएन ।







डिसी नेपाल








Facebook Comment