भारतमा दिनमै झण्डै १ लाख संक्रमित थपिएपछि प्रधानमन्त्रीसहितको आकस्मिक बैठक बस्यो
काठमाडौं। भारतमा एकै दिन झण्डै १ लाख संक्रमित थपिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाए । प्रधानमन्त्री मोदीले कोरोनाभाइरस सम्बन्धी नीति तय गर्न बैठक बोलाएका हुन् । बैठकमा क्याबिनेट सचिव राजीव गौबा, प्रधानमन्त्रीका मुख्य सचिव प्रमोद कुमार मिश्रा, स्वास्थ्य सचिव राजेश भुषण र नीति आयोगका सदस्य डा. विनोद पल सहभागी रहेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
बैठकमा कस्ता निर्णय भए भन्ने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन । भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार २४९ नयाँ संक्रमित थपिएका छन् । यो पछिल्लो साढे ६ महिनाको अवधिमा अर्थात २०२० को सेप्टेम्बर १९ देखिको सबैभन्दा उच्च संख्या हो । भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १२.४८ मिलियनभन्दा माथि भइसकेको छ । संक्रमितको संख्याको हिसाबले अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।
पछिल्लो २४ घण्टामा भारतमा ५१३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या १ लाख ६४ हजार ६२३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ७ करोड ५९ लाख ७९ हजार ६५१ जनालाई भ्याक्सिन लगाइएको छ । जोन हप्किन्स विश्वविद्यालयको कोभिड–१९ ट्रयाकरका अनुसार भारतमा दैनिक थपिने नयाँ संक्रमितको संख्या विश्वमै सबैभन्दा बढी छ ।
आइतबार महाराष्ट्र, कर्णटक, छत्तीसगढ, दिल्ली, तमिलनाडु, उत्तर प्रदेश, मध्य प्रदेश र पंजाब गरी ८ राज्यमा संक्रमणको वृद्धिदर उच्च देखिएको छ । भारतका कूल दैनिक संक्रमितमध्ये ८१.४२ प्रतिशत यी ८ राज्यका मात्र छन् । विभिन्न राज्यहरुले महामारी फैलिन नदिन कडाइ गरिरहेका छन् । राज्यहरुले रात्रीकालीन कर्फ्युदेखि स्कुल र अन्य शैक्षिक संस्था बन्द गराएका छन् । महाराष्ट्रमा मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउन हुन सक्ने चेतावनी दिएका छन् ।







डिसी नेपाल








Facebook Comment