भारत आएका रुसी विदेशमन्त्री पाकिस्तान गएपछि भारतलाई तनाव
काठमाडौं। भारत भ्रमणका लागि आएका रुसी विदेशमन्त्री सर्गेइ लावरोभ पाकिस्तान गएपछि भारतको चिन्ता बढेको छ । रुससँग आफ्नो सम्बन्ध बिग्रिइरहेको बेलापाकिस्तान र रुसको निकटता बढेपछि यसले भारतको चिन्ता बढाएको हो । रुसको भारतसँग दूरी बढिरहेका बेला पाकिस्तानसँग बढ्दो निकटता भारतको लागि ठूलो चिन्ताको विषय हो । यसअघि रुस र पाकिस्तानको निकटता नरहेको अवस्थामा उनीहरुको निकटता बढ्नु भारतको लागि थप चिन्ताको विषय हो ।
पाकिस्तानको निर्माण भएदेखि नै रुस र पाकिस्तानको सम्बन्ध सहज थिएन । शीतयुद्धको क्रममा पनि पाकिस्तानले रुसको विरोधी शक्ति अमेरिकाको साथ दिएको थियो । अफगानिस्तानमा पनि अमेरिकाले पाकिस्तानकै सहयोगमा रुसविरुद्ध तालिबानलाई उभ्याएको थियो । तर, अमेरिका भारतसँग नजिकिँदै जाँदा उता रुस पाकिस्तानसँग नजिकिन थालेपछि भारत चिन्तित छ । यही समयमा भारत स्वयंको भने रुससँग सम्बन्ध सहज नहुनु उसको लागि थप चिन्ताको विषय हो ।
विश्वमा अहिले शक्तिकेन्द्र स्थिर रहन सक्छ कि सक्दैन भन्ने अन्योल छ । अमेरिका र युरोपकेन्द्रित शक्तिलाई अहिले रुस र चीनले चुनौती दिइरहेका छन् । पाकिस्तान पहिलेदेखि नै चीनसँग निकट छ । यस्तोमा रुस पनि पाकिस्तानको निकट आउनु विश्व शक्ति समीकरणमा स्थान बनाउँदै गरेको भारतको लागि चिन्ताको विषय हो । विगत १ दशक रुसी विदेशमन्त्री पाकिस्तान गएका थिएनन् तर अहिले लावरोभ गएका छन् ।
लावरोभले पाकिस्तानी समकक्षी शाह महमुद कुरैशीसँग प्रतिनिधिमण्डल स्तरको वार्ता गरे । विदेशमनत्री लावरोभले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख जनरल कमर जावेद बाजवासँग पनि भेटवार्ता गरे । वार्तामा अर्थव्यवस्था, व्यापार, आतंकवाद तथा रक्षा क्षेत्रमा द्विपक्षीय सहयोगलाई बढावा दिने विषयमा छलफल भयो । छलफलपछि रुसी विदेशमन्त्रीले गरेको एउटा घोषणा भारतको लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ ।
लावरोभले प्रेस ब्रिफिङमा पाकिस्तानलाई विशेष सैन्य हतियार उपलब्ध गराउने घोषणा गरे । लावरोभले भने ‘हामी पाकिस्तानको आतंकवाद निरोधी क्षमता बलियो बनाउन तयार छौं । जसमा विशेष सैन्य उपकरणसहित हतियारको आपूर्ति पनि गरिनेछ ।’ लावरोभले यस विषयमा विस्तृत जानकारी भने दिएनन् । उनले पाकिस्तान र रुसबीच सैन्य युद्धाभ्यास र ड्रिलको लागि भएको सहमतिबारे कुरा गर्दै उनले यो यस क्षेत्रका सबै देशको हितमा भएको बताए ।
रुस र पाकिस्तानले २०१६ देखि संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । यी दुई देशबीचको संयुक्त सैन्य अभ्यासका विषयमा भारतले यसअघि नै पटक पटक आपत्ति जनाउँदै आएको थियो । अहिले यी दुई देशबीच सैन्य उपकरण र हातहतियारका विषयमा समेत थप सम्झौता भएपछि यो भारतको लागि झनै टाउको दुखाइको विषय भएको छ । रुसी विदेश मन्त्रीसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशले जम्मु कश्मिर विवादको शान्तिपूर्ण समाधान चाहेको बताए । कश्मिर मामिला पनि भारतको टाउको दुखाइको विषय हो ।







डिसी नेपाल







Facebook Comment