भारतका प्रधानमन्त्री मोदीलाई कोरोनाको दोस्रो खोप

डिसी नेपाल
२६ चैत २०७७ १६:३०
56
Shares

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन्। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् ।

“मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् । यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका छन् । भारतले कोरोनाभाइरस विरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ ।

कोरोनाविरुद्धको खोप उत्पादन र वितरणमा भारतका नेतृत्वदायी र उल्लेखनीय भूमिका खेलेको छ । तैपनि भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ । पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनाभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.