भूमाफियाले कब्जा गरेका जग्गा फिर्ता लिइने

डिसी नेपाल
२७ चैत २०७७ २०:५५

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताएका छन् । काठमाडौं महानगरपालिका–५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा उनले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताएका हुन् ।

काठमाडौं पहेँलो पुलस्थित सरकारी जग्गालाई भूमाफियाले प्रयोग गरेपछि उपप्रधानमन्त्री पोखरेल र भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री डा शिवमाया तुम्वाहाङ्फेको उपस्थितिमा ‘यो जग्गा नेपाल सरकारको हो’ भनी लेखिएको बोर्ड राखिएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारी जग्गालाई दुरुपयोग गर्नेलाई कडा कारवाही गर्ने बताए । उनले सरकारी जग्गा दुरुपयोग हुन नदिन स्थानीयवासीसमेत चनाखो हुनुपर्ने धारणा राखे । उनले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा पनि सार्वजनिक जग्गाको रक्षा गर्ने सरकारको अभियान भएको बताए ।

भूमि व्यवस्थामन्त्री तुम्वाहाङ्फेले सार्वजनिक जग्गाको अतिक्रमण गर्ने क्रम बढेकाले सरकारले आफ्नो जग्गा आफ्नो नाममा ल्याउने अभियानलाई तीव्रता दिने जानकारी दिइन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेश सांसद नारायण सिलवालले २०२१ सालमा खोलाले धार काटेपछि बाँकी रहेको जग्गालाई व्यक्तिले गुठीको नाममा दर्ता गरी मोही कायम गरेकाले त्यसलाई फिर्ता गरिएको बताए।

सरकारी टोलीले आज महानगरपालिका–५ मा रहेको कित्ता नम्बर २०८, २१०, २४७, २४९, २५१ गरी कूल दुई हजार ९०८ दशमलव ४४ वर्गकिलोमिटर अतिक्रमित जग्गामा सरकारी बोर्ड राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.