३ हजार वर्ष पुरानो ‘हराएको सुनको सहर’ भेटियो
काठमाडौं। पुरातत्वविदहरुले सम्भवतः इजिप्टको सबैभन्दा ठूलो प्राचीन सहरको खोजी गरेको बताएका छन् । हजारौं वर्षदेखि बालुवामुनि दबिएर रहेको प्राचीन इजिप्टको यो प्राचीन सहरको खोजीलाई विशेषज्ञहरुले तुतानखामुनको चिहानको उत्खननपछि भेटिएको सबैभन्दा महत्वपूर्ण खोजी भनेका छन् । प्रसिद्ध इजिप्टोलोजिस्ट जाही हवासले यो ‘हराएको सुनको सहर’ भ्याली अफ किंग्स भनिने लुक्जोरनजिकै फेला परेको बताएका छन् ।
‘डा. जाही हवास नेतृत्वको मिसनले बालुवामुनि हराएको सहर फेला पारेको छ’ आर्कियोलोजीको टिमले भनेको छ ‘यो सहर ३ हजार वर्ष पुरानो हो । अमेनहोतेप तृतीयको पालाको यो सहर तुतानखामुन र एइको पालासम्म थियो ।’ एतेन भनिने यो सहर इजिप्टमा अहिलेसम्म भेटिएका प्राचीन सहरमध्ये सबैभन्दा ठूलो मानिएको छ ।
जोन हप्किन्स विश्वविद्यालयमा इजिप्सियन कला र पुरातन्वका प्राध्यापक बेत्सी ब्रायनका अनुसार यो खोजी तुतानखामुनको चिहानको खोजीपछिको दोस्रो महत्वपूर्ण खोजी हो । यहाँ उत्खननका क्रममा औंठी लगायतका गहनाहरु फेला परेका छन् । साथमा रंग लगाइएका भाँडाहरु, विशेष किसिमका जन्तर र अमेनहोतेप तृतीयको नाम लेखिएका इट्टाहरु फेला परेका छन् । पूर्व पुरातत्व मन्त्रीसमेत रहेका हवासले भने ‘कैयौं विदेशी मिसनले यो सहरको खोजी गरेको भए पनि फेला पार्न सकेका थिएनन् ।’
यो टोलीले २०२० सेप्टेम्बरमा उत्खनन सुरु गरेको थियो । राजधानी कायरोबाट ५ सय किलोमिटर टाढा लुक्जोरमा रामसेस तृतीय र अमेनहोतेप तृतीयको मन्दिरको बीचमा उत्खनन गरिएको थियो । ‘केही हप्तामै माटोमा इटाहरुका संरचनाहरु फेला पर्न थाले’ टिमले जारी गरेको वक्तव्यमा भनिएको छ ‘उत्खननमा एउटा ठूलो सहरको भाग फेला परेको थियो । लगभग सिंगै भित्ताहरु र कोठाहरुमा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरु थिए ।’
सात महिनाको उत्खननमा कैयौं टोलहरु फेला परेका छन् । यहाँ पखाउने र भण्डार गर्ने भाँडासहित एउटा बेकरी समेत फेला परेको छ । प्रशासकीय र आवासीय क्षेत्रहरु पनि फेला परेका छन् । अमेनहोतेपले त्यतिबेला आफ्नो राज्य युफ्रेट्सदेखि सुडानसम्म विस्तार गरेको र उनको मृत्यु इसापूर्व १३५४ मा भएको पुरातत्वविदहरु बताउँछन् । उनले करिब ४ दशकसम्म शासन गरेका थिए ।







डिसी नेपाल








Facebook Comment