रुसी राष्ट्रपतिको प्रस्तावले पाकिस्तानमा हलचल, भारत सशंकित
काठमाडौं। पाकिस्तान र रुसबीच द्विपक्षीय सम्बन्ध बलियो हुँदै गइरहेको छ । भारत भ्रमणमा आएका रुसी विदेशमनत्री सर्गेइ लावरोभ गत हप्ता पाकिस्तान पुगेका थिए । विगत ९ वर्षयता यो रुसी विदेशमन्त्रीको पहिलो पाकिस्तान भ्रमण थियो । यस क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एक महत्वपूर्ण सन्देश पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई दिए ।
एक्सप्रेस ट्रिब्युनका अनुसार बैठकमा सहभागी पाकिस्तानका एक बरिष्ठ अधिकारीले लावरोभलाई उद्धृत गर्दै भने ‘मैले राष्ट्रपतिको एउटा सन्देश लिएको आएको छु । उहाँले पाकिस्तानसँग सहकार्य गर्न रुस तयार भएको र पाकिस्तानलाई आवश्यक परेको जुनसुकै कुरा उपलब्ध गराउन रुस तयार रहेको भन्नुभएको छ ।’ ती अधिकारीका अनुसार अर्को शब्दमा भन्दा यो रुसले पाकिस्तानलाई ‘ब्ल्यांक चेक’ दिएजस्तै हो ।
ती अधिकारीका अनुसार रुस पाकिस्तानलाई ग्यास पाइपलाइन, कोरिडोर, रक्षा उपकरण र हतियार तथा अन्य जुनसुकै आवश्यक सहयोग गर्न तयार छ । पाकिस्तान र रुसले यसअघि नै उत्तर दक्षिण ग्यास पाइपलाइन परियोजनामा काम गरिरहेका छन् । बराचीदेखि लाहोरसम्म पाइपलाइन बिच्छ्याउन दुई पक्षले २०१५ मा सम्झौता गरेका थिए । यो परियोजनामा २ अर्ब डलर खर्च हुने अनुमान छ । अहिले दुवै पक्षले नयाँ परियोजनाको निर्माणका लागि पनि सहमति गरेका हुन् ।
पाकिस्तान र रुसबीच भएको यो सहमतिले भारत सशंकित बनेको छ । भारत र पाकिस्तानको सम्बन्ध निकै कटुतापूर्ण छ । रुससँग भने भारतको सम्बन्ध राम्रो थियो । तर, अहिले रुस र भारतको सम्बन्ध पहिलेजस्तो छैन । यही बीचमा रुस पाकिस्तानसँग नजिकिँदै गएपछि भारत सशंकित भएको हो । रुसले पाकिस्तानलाई अत्याधुनिक हतियार र सैन्य उपकरणहरु पनि उपलब्ध गराउने सहमति गरेपछि भारतको तनाव बढेको छ ।
रुसले पाकिस्तानमा जलविद्युत परियोजनामा पनि चासो देखाएको छ । पाकिस्तानमा विभिन्न क्षेत्रमा रुसले ८ बिलियन डलर लगानी गर्ने प्रस्ताव गरेको छ । पाकिस्तानलाई रुसी मिसाइल प्रतिरक्षा प्रणाली उपलब्ध गराउने विषयमा विस्तारमा बताउन नसक्ने बताउँदै ती अधिकारीले रुसले रक्षा षेत्रमा समेत पाकिस्तानलाई सहयोग गर्ने बताएको खुलासा गरे ।







डिसी नेपाल








Facebook Comment