कोरोना विशेष अस्पतालमा आगलागी, आइसीयुमा भर्ना १५ बिरामीमध्ये १३ को मृत्यु

डिसी नेपाल
१० वैशाख २०७८ ८:५२
372
Shares

काठमाडौं। भारतको महाराष्ट्रको पालघर जिल्लाको विरार पश्चिममा रहेको विजय वल्लभ कोभिड सेन्टरको आइसीयुमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ । यीमध्ये ४ जना महिला थिए । दुर्घटनाको समयमा आइसीयूमा १५ जना बिरामी थिए र पूरै अस्पतालमा ९० जना बिरामीलाई भर्ना गरिएको थियो। बिरामीहरुमध्ये अक्सिजन सपोर्टमा राखिएका २१ जना बिरामीलाई अर्को अस्पतालमा सारिएको छ।

शुक्रबार विहान ३ बजेर २५ मिनेटको समयमा आगलागी भएको थियो । एक घण्टाभित्रै आगो नियन्त्रण गरिएको थियो । एसीमा सर्ट भएका कारण आगलागी भएको बताइएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले घटनाको छानविन गर्न आदेश दिएका छन् । बिरामीका परिवारका सदस्यहरूले अस्पतालका कर्मचारीहरूले आगो लाग्दा बिरामीहरूलाई भित्र छोडेर भागेको आरोप लगाए।

कर्मचारी भागेपछि बिरामीका परिवारका सदस्य आफैँ भित्र पसेर बिरामीलाई निकाल्ने प्रयास गरेका थिए । रिपोर्टअनुसार दुर्घटनाको समयमा आइसीयूमा दुई जना नर्स थिए। अस्पतालका सिइओ दिलीप शाहले राती अस्पतालमा डाक्टरहरु रहेको दाबी गरे । तर दुर्घटनाको समयमा कति जना कर्मचारी ड्युटीमा थिए भनेर उनलाई सोध्दा उनले र ठ्याक्कै तथ्यांक दिन सकेनन्।

यसअघि महाराष्ट्रमै बुधबार नासिकस्थित एक सरकारी अस्पतालमा ठूलो दुर्घटना भएको थियो । यहाँको नगर निगमको जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांकी लिक भएको थियो । यसलाई मर्मत गर्न ३० मिनेट लाग्यो र अक्सिजनको आपूर्ति लामो समयसम्म रोकियो जसका कारण २४ जना बिरामीको मृत्यु भयो। अक्सिजन आपूर्ति रोकिएको समयमा १७१ जना बिरामी अक्सिजन सपोर्टमा थिए भने ६७ जना बिरामी भेन्टिलेटरमा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.