कोरोनाकालको सबैभन्दा ठूलो कन्सर्ट, बिना मास्क ५० हजार जना सहभागी
काठमाडौं। कोरोनाभाइरस महामारीले विश्वका कैयौं देशहरु नराम्रोसँग प्रभावित भएका छन् । अहिले सबैभन्दा गम्भीर रुपमा भारत प्रभावित छ । नेपालमा पनि कैयौं क्षेत्रमा स्थिति बिग्रिँदो छ । तर, कैयौं देशहरु यस्ता छन् जसले यो भाइरसमाथि पार पाइसकेका छन् । न्यूजिल्याण्ड यस्तै देश हो जहाँ हालै कोरोनाकालको सबैभन्दा ठूलो सांगीतिक कन्सर्ट भयो ।
स्टफका अनुसार न्यूजिल्याण्डको यो सांगीतिक कन्सर्टमा ५० हजारभन्दा धेरै मानिसहरु उपस्थित थिए । यी सहभागीहरुले मास्क लगाएका थिएनन् र यो कार्यक्रममा कुनै किसिमको सामाजिक दूरी पनि थिएन । न्यूजिल्याण्डको ब्याण्ड सिक्स सिक्सटीले अकल्याण्डको इडन पार्कमा एक शानदार प्रस्तुती दिएको थियो । यसलाई कोरोनाकालको सबैभन्दा ठूलो सांगीतिक उत्सव मानिएको छ ।
न्यूजिल्याण्डले जुन हिसाबले कोरोना महामारी नियन्त्रण गर्न कदम चालेको छ त्यसका कारण उसको प्रशंशा भइरहेको छ । यो देशमा कोरोनाभाइरसबाट केवल २६ जनाको मृत्यु भएको छ र त्यहाँ अहिलेसम्म कोरोनाको केवल २ हजार ६०१ केस देखिएका छन् । न्यूजिल्याण्डले इन्टरनेशनल बोर्डर बन्द गर्ने, आक्रामक परीक्षण र कन्ट्याक्टर ट्रेसिङ गरेर यो महामारीमाथि नियन्त्रण पाएको हो ।
यो सांगीतिक उत्सवमा गएका एक व्यक्तिले सामाजिक संजालमा लेखे ‘म निकै भाग्यमानी छु किनकि म न्यूजिल्याण्डमा बस्छु । किनकि हामी जस्तो जीवन बाँचिरहेका छौं त्यस्तो जीवनको बारेमा विश्वका करोडौं मानिसहरु अहिले केवल सोच्न मात्रै सक्छन् ।’ यसअघि स्पेनको बार्सिलोनामा गत महिना एक सांगीतिक कन्सर्टमा ५ हजार जना सहभागी भएका थिए । यसलाई कोरोना महामारीपछि युरोपको सबैभन्दा ठूलो सांगीतिक उत्सव भनिएको थियो ।







डिसी नेपाल








Facebook Comment