संसारकै सबैभन्दा महंगो हुलाक टिकट १५ मिलियन डलरमा बिक्री हुने अपेक्षा

डिसी नेपाल
१६ वैशाख २०७८ १२:३१
100
Shares

काठमाडौं। झट्ट हेर्दा यो कागजको पुरानो टुक्रा हुन सक्छ तर वास्तवमा भन्ने हो भने आकार, तौल र विषयवस्तुको सन्दर्भमा यो संसारकै सबैभन्दा बहुमूल्य वस्तु हुन सक्छ। जून महिनामा नीलामीमा जाँदा यो वस्तु १० देखि १५ मिलियन अमेरिकी डलर बराबरमा बिक्री हुने अनुमान गरिएको छ जुन यसको मौलिक मूल्यभन्दा एक अरब गुणा बढी हो । यो प्राचीन हुलाक टिकट हो ।

द गार्डियनको एक रिपोर्टअनुसार यो टिकट ब्रिटिश गुयाना वन–सेन्ट म्याजेन्टा हो । यो सन् १८५६ मा बनाइएको थियो र यो विश्वकै सबैभन्दा प्रसिद्ध र मूल्यवान टिकट हो। फिलाटलिक विशेषज्ञ डेभिड बिचले भने, ‘यो फिलाटेलीको मोना लिसा हो । यो त्यही टिकट हो, जसको बारेमा हरेक फिलाटलिस्ट र हरेक संकलकले एउटा दृष्टान्त सुनेको र देखेको हुनुपर्छ।’

यो यसप्रकारको एक मात्र टिकट हो । यसलाई न्यूयोर्कमा बिक्रीका लागि खुला गरिनुभन्दा पहिले सोथेबिको लण्डन मुख्यालयमा प्रदर्शन गरिएको छ र यो हप्ता सार्वजनिक अवलोकनका लागि खुला हुनेछ । ब्रिटिश लाइब्रेरी फिलाटेलिक कलेक्शनका क्युरेटर बिचले यसको स्वामित्व भएका मानिसहरूले र यसको स्वामित्व लिन चाहने व्यक्तिहरुले यसको ख्याति बढाएको बताए ।

यो टिकट अहिले गुयानामा पर्ने तत्कालीन ब्रिटिश गुयानामा निर्माण गरिएको थियो । त्यहाँ साधारणतया इंग्ल्याण्डबाट आयात गरिने टिकट प्रयोग हुन्थ्यो तर ती टिकटको अभावले उपनिवेशको हुलाक सेवामा बाधा पुग्ने खतरा भएपछि यसको निर्माण गरिएको थियो । त्यतिबेला एक सेन्ट मूल्यको यो टिकट मुख्यतया अखबार वितरण गर्न प्रयोग गरिएको थियो र ती टिकटहर धेरैजसो फ्याँकिन्थे । बिचले ‘आज किन एउटा मात्र टिकट अस्तित्वमा छ ?’ भन्ने कुरा कम आश्चर्यको बरु ‘चमत्कारिक रुपमा एउटा मात्र टिकट अस्तित्वमा रहनु’ बढी आश्चर्यको कुरा भएको बताए ।

यो टिकट सबैभन्दा पहिले १८७३ मा १२ वर्षका एक किशोर भेर्नोन भुगानले फेला पारेका थिए । ती स्कटिस किशोर ब्रिटिस गुयानामा बस्थे र उनले आफ्ना काकाको कागजहरुमा यसलाई फेला पारेका थिए । उनले यसलाई ६ सिलिङमा बेचे । यो टिकट संकलकहरुमा एकबाट अर्कोमा हस्तान्तरण हुँदै गयो र यसलाई पेरिसका काउन्ट फिलिप ला रेनोटायरे भोन फेरारीले फेला पारे । उनको १९१७ मा हृदयाघातका कारण मृत्यु भयो । उनले आफ्नो संकलनका सबै टिकट जर्मनीका लागि छाडेर मरेका थिए ।

१९२० मा फ्रान्सले बर्लिनबाट उनको संकलन नियन्त्रण गर्यो । फ्रान्सले एक लिलामीमा उनको संकलन बिक्री गर्यो । यो लिलामीमा बेलायती राजा जर्ज पाँचौं, रोमानियाका राजा कारोल द्वितीय सहित विश्वका ठूला संकलकहरु उपस्थित थिए । तर, यो टिकटलाई लिलामीमा रेकर्ड मूल्यमा ब्राडफोर्डमा जन्मिएका उद्योगपति आर्थर हिन्दले किने । पछिल्लो पटक यो टिकट १९८० मा ९ लाख ३५ हजार डलरमा बिक्री भएको थियो । यसका अहिलेका मालिक अमेरिकी डिजाइनर स्टुआर्ट विट्जम्यान हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.