नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा धेरै हुने केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण
काठमाडौं। कोरोना भाइरसको प्रभावले थलिएको नेपालको अर्थतन्त्रमा नयाँ प्रजातिको संक्रमण तिव्र हुँदै गएको अवस्थामा केन्द्रीय तथ्याङ्क विभागले नेपालको प्रारम्भिक आर्थिक वृद्धिदर ४ दशमलव ०१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले सो प्रक्षेपण गरेको जनाएको छ।
आर्थिक बर्ष २०७७÷७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन ,उपभोग , बचत र लगानीलाई समेटर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गरिएको छ। विभागले राष्ट्रिय लेखा गणना गर्ने आधार वर्ष परिवर्तन गर्दै २०६७÷६८ कायम गरेको हो।
विभागले आगामी १ जेठदेखि आर्थिक क्रियाकलाप सामान्य हुने अनुमान समेत गरेको छ। यद्यपि, कोरोनाभाइरसको संक्रमण रोकथामका लागि काठमाडौंसहितका शहरमा लगाइएको निषेधाज्ञा लम्बिएमा भने वृद्धिदर आकलनभन्दा तल जानसक्ने विभागको अनुमान छ।
महामारीले निम्त्याएको विपद्का कारण गत आर्थिक वर्ष २०७६÷७७ मा देशको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशत ऋणात्मक भएको थियो। देशको अर्थतन्त्र चार दशकपछि पहिलो पटक गत वर्ष संकुचित भएको थियो। विभागले २०७७ वैशाखमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत हुने अनुमान गरे पनि बन्दाबन्दी लम्बिँदै गएपछि अन्तिममा अर्थतन्त्र संकुचित भएको थियो।
चालू आर्थिक वर्षको बजेटले यो वर्ष करीब ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर, महामारीका कारण आर्थिक क्रियाकलाप सुस्त हुँदा त्यसको असर वृद्धिदरमा पर्ने भएको हो।
यसअघि, विश्व बैंकले नेपालको चालू आर्थिक वर्षमा २ दशमलव ७ प्रतिशत र एसियाली विकास बैंकले ३ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेका थिए।
यस्तै विभागले यो वर्ष नेपालीको प्रतिव्यक्ति आय एक हजार १ सय ९१ डलरमा सीमित हुने जनाएको छ। कोरोना महामारीको प्रभाव शुरू हुनुअघि आर्थिक वर्ष २०७५÷७६ मा नेपालीको प्रतिव्यक्ति आय एक हजार १ सय ५९ डलर थियो। यस्तै विभागले यो वर्ष नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ३३ अर्ब हुने अनुमान समेत गरेको छ।







डिसी नेपाल








Facebook Comment