थप खोप ल्याउनका लागि सरकार लागि परेको छ – अर्थमन्त्री पौडेल
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप खोप ल्याउनका लागि सरकार लागि परेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८÷७९ बजेटसम्बन्धी सुझाव दिन आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले जनताको स्वास्थ्यलाई सर्वाधिक प्राथामिकता दिइ थप खोपका लागि गृहकार्य जारी रहेको बताएका हुन्।
उनले कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन्। कोभिड–१९को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे।
उनले जनताको जीवन रक्षाका लागि नै ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गर्नु परेकोले सावधानी अपनाउन, स्वास्थ्य मापदण्ड र निर्णयहरुलाई पालना गर्न सबैलाई आग्रह गरे।
वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको उनको भनाई छ।
कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताए।
यस्तै सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरु, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी, लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन गर्न सुझाव दिएको छ।







डिसी नेपाल








Facebook Comment