यसपटक पनि प्रधानमन्त्री ओलीले सेनातिर पन्छाए, हजार बेडको अस्पताल तत्काल बन्दैन

डिसी नेपाल
२२ वैशाख २०७८ ९:५८

काठमाडौं। कोरोना महामारीको दोस्रो वेभमा जनताले सरकार खोज्न थाले, सरकारले विरामी जनताका लागि अक्सिजन पुर्याउन नसकेको र उपचारको लागि अस्पतालको बेडसमेत व्यबस्था गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको नाम अघि सारेर जोगिने प्रयास गरे। के उनले अघि सारेजस्तो सेनाले एकहजार बेडको अस्थायी अस्पताल काठमाडौंमा बनाउंदै छ त? के का आधारमा ओलीले सो कुरा बोले?

कोरोनाको पहिलो वेभमा सरकारको सिभिल सिष्टमबाट औषधि र स्वास्थ्य सामग्रीको व्यबस्था गर्न असफल भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाटै निर्णय गराएर नेपाली सेनालाई स्वास्थ्य सामग्री र औषधि खरिद गर्ने अधिकार दिएको थियो।

स्वास्थ्य मन्त्रालयमार्फत ती सामग्री खरिद गर्दा ओलीनिकटका भनेर प्रचारित माफियाहरुले चर्को मूल्य असुल उपर गरेपछि जनताको आक्रोश ओलीविरुद्ध केन्द्रित भएको थियो।

उपत्यका र सबै प्रदेशहरुमा नेपाली सेनाले होल्डिङ सेन्टरहरु बनाएर त्यसको व्यबस्थापन गर्नेबारे भने प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग कुरा भएको हो र सोअनुसारको काम सेनाले शुरु गरिसकेको छ। तर, एकहजार बेडको अस्थायी अस्पताल उपलब्ध साधन स्रोतबाट बनाउन तत्काल सम्भव नभएको जानकारी सेनाले सरकारलाई गराइसकेको छ।

आफूविरुद्ध जनता रुष्ट भएपछि त्यो अवगालबाट बच्न ओलीले नेपाली सेनालाई अघि सारेर मेडिकल सामग्री ल्याउने जिम्मेवारी सुम्पेर आफ्नो टाउको जोगाएका थिए। तर, उपप्रधानमन्त्री तथा तत्कालीन रक्षामन्त्री हाल विनाविभागीय मन्त्री इश्वर पोख्रेलको व्यापारिक स्वार्थ सेनाले पूरा गरिदिन सकेन।

त्यसैले सेनालाई विवादमा ल्याउन स्वयं पोख्रेल र उनको मसिनरी प्रयोग भएको आरोप लाग्दै आयो। यही विवादमा पोख्रेलले रक्षा मन्त्रालय गुमाएर विनाविभागीय मन्त्रीमा थन्किनु परेको थियो।

दोस्रो वेभको चर्को प्रभाव देखिन थाल्यो। कोरोना महामारी शुरु भएको एकवर्षको अवधिमा थप खतनाक अवस्था आउन सक्ने विज्ञहरुको आंकलनलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लाग्न थाल्यो।

सरकारले कुनै तयारीसमेत गर्न नसकेको कारण जनताका आक्रोश बढेपछि यसपटक पनि प्रधानमन्त्रीले नेपाली सेनाको नाम अघि सारेका छन्। तर, के उनले भनेजस्तो सेनाले एकहजार बेडको अस्थायी अस्पताल बनाउन लागेको छ? त्यो कहिले बन्छ त?

उच्च सैनिक स्रोतका अनुसार, नेपाली सेनाले उपत्यकामा कुनै हजार बेडको अस्पताल बनाउन लागेको छैन। न त यसका लागि सरकारले स्रोत साधन नै दिएको छ। बरु, सेनापति पूर्णचन्द्र थापाले नै प्रधानमन्त्रीलाई यदि स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतको निकायले सक्दैन भने नेपाली सेनाले उपत्यकामा केही सय विरामीलाई आइसोलेसनमा राख्ने होल्डिङ सेन्टर बनाउन सक्ने प्रस्ताव गरेका थिए।

उच्च सैनिक स्रोतले डिसी नेपालसँग भन्यो,‘सेनाले भनेको होल्डिङ सेन्टरमात्रै हो, अस्पताल हैन, प्रधानमन्त्रीले झुक्किएर होल्डिङ सेन्टरलाई अस्पताल भन्नुभएको हो कि? उतै सोध्नुहोस्।’

सो स्रोतका अनुसार, उपत्यका र सबै प्रदेशहरुमा नेपाली सेनाले होल्डिङ सेन्टरहरु बनाएर त्यसको व्यबस्थापन गर्नेबारे भने प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग कुरा भएको हो र सोअनुसारको काम सेनाले शुरु गरिसकेको छ।

तर, एकहजार बेडको अस्थायी अस्पताल उपलब्ध साधन स्रोतबाट बनाउन तत्काल सम्भव नभएको जानकारी सेनाले सरकारलाई गराइसकेको छ। मुलुकको प्रधानमन्त्रीले नै देशवासीलाई संबोधन गर्दा सेनालाई एकहजार बेडको अस्पताल निर्माण गर्न निर्देशन दिएको बताएपछि प्रधानमन्त्रीको वेइज्जति हुनबाट जोगाउन सेनाले आफ्ना दुई अस्पतालमध्ये एकलाई कोरोना अस्पताल तोक्न सक्छ।

तर, प्रधानमन्त्री ओलीले भनेजस्तो एकहजार बेडको अस्पताल बनाउन भने सरकारले स्रोत साधन उपलब्ध गराउनु आवश्यक छ जुन हालसम्म सरकारले कुनै निर्णय गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *