वेश्यालयलाई कोभिड सेन्टर बनाइयो, यौनकर्मीले गर्छन् कोरोना जाँच
काठमाडौं। कोरोनाभाइरससँग जुध्नको लागि समाजका हरेक वर्गले आफ्नो ठाउँबाट संघर्ष र योगदान गरिरहेका छन् । सबै क्षेत्र यो महामारीलाई जितेर सामान्य अवस्थामा फर्किन संघर्षरत छन् । जर्मनीमा यस्तै प्रयासस्वरुप वेश्यालयलाई कोभिड सेन्टरमा परिणत गरिएको छ । यो कोभिड सेन्टरमा मानिसहरुलाई कोरोना संक्रमण भए नभएको परीक्षण गरिन्छ र यो परीक्षणको काम यौनकर्मीहरुले गर्छन् । यी यौनकर्मीहरुले पहिले यही वेश्यालयमा यौन व्यापार गर्थे ।
यो वेश्यालय दक्षिण पश्चिम जर्मनीको हायडलबर्ग नामक शहरमा छ । यो वेश्यालयको नाम बिहीव लभ सेन्टर हो र यहाँ २५ जना महिलाहरु काम गर्छन् । जर्मनीका स्वास्थ्यकर्मीहरुले यहाँका महिलाहरुलाई कोरोना परीक्षण गर्ने प्रशिक्षण दिएका छन् । यहाँ काम गर्ने ४५ वर्षकी एक महिला जेनीले जर्मनीको समाचार वेबसाइट बाइल्डसँग कुरा गर्दै आफूले एक सुरक्षा गाउन, मास्क र पञ्जा लगाउनुपर्ने बताइन् ।
‘सामान्य अवस्थामा मैले आफूलाई यति धेरै ढाकेर राख्दिन तर यो भाइरस महामारीका कारण हामीले धेरै व्यवस्थित तरिकाले रहनुपर्छ र यो भाइरसको खतरालाई ध्यानमा राखेर हामी धेरै सावधानी अपनाइरहेका छौं’ उनले भनिन् । उनले आफूहरुले पहिले गर्ने काममा पनि धेरै सावधानी अपनाउनु पर्ने र अहिले कोरोना परीक्षणको क्रममा पनि त्यस्तै सावधानी अपनाइरहेको बताइन् ।
यहाँ परीक्षण गराएको २० मिनेटमा परीक्षण गराउनेले आफ्नो मोवाइलमा नतिजा पाउँछन् । यहाँ परीक्षण गराउनेले कुनै शुल्क तिर्नु पर्दैन । यो वेश्यालयका मालिक ५९ वर्षका केल हुन् । उनले आफ्नो यो स्थान प्रशासनलाई निःशुल्क उपलब्ध गराएका हुन् । यो महामारीसँग लड्न आफ्नो पनि योगदान होस् भनेर यस्तो गरेको उनले बताए । जर्मनीमा अहिले खोप अभियान पनि तीब्र रुपमा चलिरहेको छ । यहाँ करिब २ करोडले एक डोज खोप लगाइसकेका छन् । ९० लाख जनाले २ डोज पूरा गरिसकेका छन् ।







डिसी नेपाल








Facebook Comment