कोभिडको तेस्रो लहरबाट बच्चाहरुलाई यसरी जोगाऔंः डा.राजु सेढाईं, वरिष्ठ बालरोग विशेषज्ञ
बिश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर नेपालमा प्रवेश गरेसंगै यहांको जनजीवन प्रभावित भएको छ। दोस्रो लहरसंगै अक्सिजनको अभावका कारण देशले धेरै मानवीय क्षति पनि बेहोर्नु परेको छ। अहिले बालबालिकाहरु पनि कोरोना भाइरसको जोखिममा छन्। बालबालिकालाई संक्रमणबाट टाढै राख्न के गर्नु पर्ला ? हेटौंडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. राजु सेढाईसँग नेपालमा कोरोना संक्रमणबाट बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने विषयमा डिसी नेपालका बिजय भुसालले गरेको कुराकानी :
कोरोना संक्रमणबाट बालबालिकाहरुलाइ कसरी सुरक्षित राख्ने ?
अहिले कोरोना भाइरसबारे प्राय सबै जानकार हुनुहुन्छ। बालबालिकाहरुलाई सुरक्षित राख्न सबैभन्दा पहिले सुरक्षाका मापदण्डहरु अपनाउनु पर्ने हुन्छ। बालबालिकाहरु सिधै संक्रमित नभै अप्रत्यक्षरूपमा घर परिवारकै सदस्यबाट संक्रमित हुने हुदा घरका अन्य परिवार नै बालबालिकाहरुलाई सुरक्षित राख्न सचेत हुनु पर्ने मैले देखेको छु। भिडभाडमा नजाने, अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कने, जानै पर्ने भए माक्स र सेनेटाइजरको राम्रोसंग प्रयोग गर्ने, समाजिक दुरी कायम गर्दै अरुसंग घुलमिल नहुने गर्नुपर्छ। घरमा आइसकेपछि पनि सुरक्षाका मापदण्डहरु अपनाउन पर्ने हुन्छ। यसो गरेमा मात्रै हाम्रा बालबालिकाहरुलाई हामीले सुरक्षित राख्न सक्छौं।
झोलिलो खानेकुराहरु खुवाउने ,आमाको दुध पिउने बच्चा छ भने आमाको दुध धेरै मात्रामा दिनु पर्ने हुन्छ।
बालबालिकाहरुमा कोभिड र अन्य रोगका लक्षण कसरी छुट्याउने ?
कोभिड पनि एउटा भाइरल रोग हो। कुनै पनि भाइरल रोग लागिसकेपछि देखिने लक्षणहरु अरु भाइरल रोगजस्तै हुन्छन् । यसलाई पनि विभिन्न भागमा बिभाजन गरिएको छ। धेरैजसो बालबालिका त कुनै लक्षण नै नदेखिने हुन्छन्। उनीहरु कोरोना भाइरसलाई बोकेर हिडेका हुन्छन र उनीहरुले अरुलाई भाइरस सार्न सक्ने हुन्छन् तर उनीहरुमा कुनै लक्षण देखिदैन।
अर्को अवस्था भनेको सामान्य ज्वरो आउनु, हल्का रुघा,खोकी र खान मन नगर्नु हो। अलि कडा लक्षणहरुमा श्वास प्रश्वासमा समस्या आउने, सास फेराइको गति पनि उच्च हुने हुन्छ। यो उमेर समूहअनुसार बिभाजन गरिएको हुन्छ। बच्चा अलि निलो (CYANOSIS) हुने हुन्छ। अरु रोग देखिनु अघि पनि यस्तै रुघाखोकी ज्वरो नै भएर देखिने हुदा यो अवस्थामा देखिएको रुघाखोकी ,ज्वरो, पखाला अरुचिजस्ता लक्षणलाई अरु रोगसंग तुलना नगरी कोभिड हो कि भनेर शंका गरेर अगाडि बढ्नु पर्ने हुन्छ।
बालबालिकाहरु सिधै संक्रमित नभै अप्रत्यक्षरूपमा घर परिवारकै सदस्यबाट संक्रमित हुने हुदा घरका अन्य परिवार नै बालबालिकाहरुलाई सुरक्षित राख्न सचेत हुनु पर्ने मैले देखेको छु।
कुन उमेर समुहका बालबालिकाहरुमा संक्रमणको जोखिम उच्च छ ?
कोभिडको उच्च जोखिममा कम उमेर समुहका बच्चाहरु पर्छन्। एक बर्षमुनिका बच्चाहरुमा संक्रमण दर अलि बढी पाइएको छ र संक्रमण भैसकेपछि देखिने लक्षणहरु र त्यसबाट हुने जटिलताहरु अरु उमेर समूहभन्दा बर्ष दिनभन्दा तलका बच्चाहरुमा अलि बढी पाइएको छ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा अस्पतालमा बाल बालिकाहरुको उपचार कसरी भैरहेको छ ? अहिले अस्पताल आउने बालबालिकाहरुमा कस्ता किसिमका समस्या धेरै छन् ?
अहिले हाम्रो अस्पतालमा आउने कोभिड संक्रमितहरु युवा र बृद्ध बृदा नै धेरै हुनुहुन्छ। बालबालिकाहरु पनि आइरहेका छन, तर युवा र बृद्ध बृद्धामा जसरी जटिल अवस्था आउने गरेको छ त्यो तुलनामा बालबालिकाहरुमा गम्भीर लक्षण हामीले पाएका छैनौं। बच्चाहरुलाई आइसियु मै राखेर उपचार नै गर्नु पर्ने संख्या हाम्रो अस्पतालमा कम छ। हाम्रो निगरानीमा होम आइसोलेसनमै बसेर निको हुने बालबालिकाहरु पनि धेरै छन्।
अहिलेको अवस्थामा बालबालिकाहरुको खानेकुरा कस्तो हुनुपर्छ ?
खानेकुराको हकमा सामान्य दैनिक जे खाइन्छ तिनै खानेकुरा खांदा हुन्छ। यस्तो बेलामा बच्चाहरुले खान मन गर्दैनन् तर जति सक्दो खाना खुवाउन प्रयास गर्नु पर्छ। झोलिलो खानेकुराहरु खुवाउने ,आमाको दुध पिउने बच्चा छ भने आमाको दुध धेरै मात्रामा दिनु पर्ने हुन्छ। उमेरअनुसारको भोजन जुन बच्चाहरुले गरिरहेका छन् त्यो रोक्नु पर्ने आवश्यकता हुदैन। बिमारी भएको बेला सबै उमेरका मानिसहरुले पोषणयुक्त खाना बढी मात्रामा खानुपर्छ जसले गर्दा हाम्रो शरीर रोगसंग लड्न सकोस्।
युवा र बृद्ध बृद्धामा जसरी जटिल अवस्था आउने गरेको छ त्यो तुलनामा बालबालिकाहरुमा गम्भीर लक्षण हामीले पाएका छैनौं।
बालबालिकाहरुले मास्क लगाउन समस्या हुने गर्दछ।कुन उमेर समुहका बालबालिकाहरुलाई मास्क प्रयोग गर्न सल्लाह दिनु हुन्छ ?
विश्व स्वास्थ्य संगठनले निकालेको गाइडलाइनअनुसार ५ बर्षभन्दा माथि उमेर समुहका बच्चाहरुलाई मास्क प्रयोग गर्न उपयुुक्त हुन्छ। त्योभन्दा सानो उमेर समुहका बच्चाहरु आफ्नो केअर गर्न नसक्ने हुने हुदा अवस्था हेरेर लगाउन सक्ने छन् भने लगाउदा हुने भयो। तर लगाउन जरुरी भने भएन।
नेपालमा कोरोनाको तेस्रो लहर आएमा बच्चालाई धेरै जोखिम हुन्छ भन्ने कुरामा कत्तिको सत्यता छ ?
यो कुरा सत्य हो। पहिलो लहरमा बृद्ध बृद्दालाई बढी संक्रमण गर्छ भन्ने देखिएको थियो र त्यो देखियो ,अहिलेको दोस्रो लहर जुन आएको छ यस्ले युवा बर्ग बढी संक्रमित बनाइरहेको छ। तेस्रो लहर जुन आउँछ भनिएको छ पक्कै पनि बच्चाहरु बढी संक्रमित हुने छन् किनभने जुन कोरोना खोपको कुरा छ जति पनि खोप पाएका छन् त्यो युवा बर्गले नै पाएका छन्। नेपालमा हेर्ने हो भने १८ बर्ष मुनिका लाई कोरोना खोप दिएको अवस्था छैन। तेसैले बालबालिकाहरुलाइ खोपले कभर पनि नगर्ने हुदा अब आउने तेस्रो लहरले पक्कै पनि बालबालिकाहरुलाई धेरै असर गर्ने देखिन्छ।







डिसी नेपाल








Facebook Comment