राष्ट्रपतिको आदेशमा यात्रुवाहक विमान अपहरणको घटनाप्रति बाइडेन आक्रोशित

डिसी नेपाल
११ जेठ २०७८ १६:३७
9.3k
Shares

काठमाडौं। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको आदेशमा सोमबार यात्रुवाहक विमान ‘अपहरण’ गरेर २६ वर्षका पत्रकार रोमन दिमित्रियेभित्र प्रोत्साभिकलाई गिरफ्तार गरिएको घटनाको अमेरिकी राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । उनले बेलारुसको यो हर्कत लज्जास्पद भएको बताउँदै पत्रकार प्रोत्साभिकलाई धम्क्याएर दबाबमा अपराध स्वीकार गर्न लगाइ भिडियो बनाइएको आरोप लगाए । उनले यसलाई राजनैतिक असन्तोषका कारण प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको बताए ।

बाइडेनले बेलारुसमाथि युरोपेली संघले आर्थिक प्रतिबन्धसहितका अन्य कारवाही गरेकामा त्यसको समर्थन गरे । उनले आफ्ना टिमका सदस्यहरुलाई यो घटनामा जिम्मेवार व्यक्तिहरुको पहिचान गर्न पनि निर्देशन दिए । लुकाशेन्को राजमा अनैतिक तरिकाले हिरासतमा राखिएका व्यक्तिहरु र पत्रकारको रिहाइको माग गर्ने अन्य देशहरुको साथमा अमेरिका पनि भएको बाइडेनले बताए ।

पत्रकार प्रोत्साभिकलाई गिरफ्तार गर्नको लागि बेलारुसका राष्ट्रपति लुकाशेन्कोको निर्देशनमा विमानमा बम भएको भ्रामक हल्ला फैलाइएको थियो । त्यसपछि विमानलाई स्कर्टिङ गर्नको लागि मिग २९ लडाकू विमान पठाएर विमानलाई जबरजस्ती अवतरण गराइएको थियो । अवतरणपछि विमानस्थलमा सेनाका ६० जवान पठाएर प्रोत्साभिकलाई गिरफ्तार गरिएको थियो । उनी सरकारका आलोचक भएकै कारण उनलाई गिरफ्तार गरिएको थियो । यो पूरै नाटक राष्ट्रपति लुकाशेन्कोका कारण रचिएको बताइएको छ ।

जानकारहरुका अनुसार पत्रकार रोमनले राष्ट्रपतिको विरोध गर्नको लागि सामाजिक संजालमा ग्रुप पनि बनाएका थिए । यो नेटवर्कलाई सरकारको आदेशमा २०१२ मा ह्याक गरिएको थियो । त्यतिबेला रोमन बेलारुसको स्टेट युनिभर्सिटीमा पत्रकारिताका विद्यार्थी थिए । सरकारको आलोचनापछि उनलाई युनिभर्सिटीबाट निष्काशित गरिएको थियो । उनीमाथि दंगा भड्काएको र देशद्रोहजस्ता आरोप लगाइएको थियो । यद्यपि अदालतले उनलाई सबै आरोपमा निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।

त्यसपछि रोमन २०१९ मा पोल्याण्ड गएका थिए । उनले जनवरी २०२० मा पोल्याण्डमा राजनैतिक शरण मागेका थिए । त्यसपछि उनले त्यहीँबाट नेक्स्टा नामको युट्युब च्यानल चलाउन थालेका थिए । यो च्यानलमा बेलारुस विरोधी खबर देखाइन्छ । गत वर्ष यो च्यानलले बेलारुसका राष्ट्रपति विरुद्ध थुप्रै खबर देखाएको थियो । त्यसपछि बेलारुस सरकारले रोमनविरुद्ध कैयौं मुद्दा दर्ता गरेको थियो । त्यसपछि उनलाई आतंकवादी भन्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

रोमनको गिरफ्तारीपछि युरोपेली संघ, जर्मनी, फ्रान्स, बेलायत र अमेरिकाले बेलारुसको आलोचना गरेका छन् । जर्मनीका विदेशमन्त्री हाइको मासले यो घटनालाई विमान अपहरण भनेका छन् । उनले भने ‘बमको हल्ला फैलाएर कसैलाई यसरी गिरफ्तार गर्नु गम्भीर कदम हो । युरोपेली संघ र फ्रान्स सरकारले बेलारुससँग सफइ मागेका छौं ।’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि रोमनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.