विमान अपहरण गरेर गिरफ्तार गरिएका संसार हल्लाउन सक्ने पत्रकार रोमन को हुन् ?
काठमाडौं। ग्रिसको राजधानी एजेन्सबाट लिथुआनियाको राजधानी भिल्निअस जाँदै गरेको र्यानएयरको बोइङ ७३७ यात्रुवाहक विमानलाई बेलारुसका राष्ट्रपति अलेक्जेजेन्डर लुकाशेनकोको निर्देशनमा विमानमा बम भएको झुटो हल्ला फैलाएर बेलारुसमा जबरजस्ती अवतरण गराइयो । यो विमानलाई अवतरण गराउनका लागि बेलारुसले मिग २९ लडाकु विमान समेत स्कर्टिङका लागि पठाएको थियो । विमान बेलारुसमा अवतरण नगरे विमानलाई स्कर्टिङ गरिरहेको मिग २९ बाट आक्रमण गरेर खसाइने धम्की पनि दिइएको समाचारमा जनाइएको छ ।
विमान अवतरण गराउनको लागि बेलारुसले गरेको यो सबै नाटक र विमान अवतरण गराउनको लागि बेलारुसका राष्ट्रपति स्वयं संलग्न भएको देख्दा त्यो विमानमा निकै खतरनाक व्यक्ति वा वस्तु भएको जस्तो देखिन्छ । बेलारुसले यसरी विमान अवतरण गराउनुको कारण भने विमानमा सवार एक जना २६ वर्षका पत्रकारलाई गिरफ्तार गर्नु थियो । विमानमा उनीसँगै उनकी २३ वर्षकी गर्लफ्रेण्ड पनि थिइन् । एक जना पत्रकारलाई गिरफ्तार गर्न बेलारुसले गरेको तामझाम र उनको गिरफ्तारीसँगै बेलारुसविरुद्ध अमेरिका, युरोपेली संघसहित युरोपका शक्ति राष्ट्रहरु खनिएको देख्दा ती पत्रकार को हुन् भन्ने विषयमा चासो बढेको छ ।
यी पत्रकार रोमन प्रोत्सेभिच एक ब्लगर हुन् । विमानलाई आकाशबाटै बेलारुसतर्फ मोडिएपछि विमानमा रहेका रोमन आत्तिएको देखेर अरु यात्रुले सोध्दा उनले बेलारुस आफूलाई मृत्युदण्ड दिन पर्खेर बसिरहेको बताएका थिए । रोमन नेक्स्टा नामक च्यानलका सहसंस्थापक तथा पूर्व सम्पादक हुन् । यो बेलारुसको कट्टर आलोचक च्यानल हो ।
गत वर्ष अगष्टमा भएको निर्वाचनमा २६ वर्षदेखि बेलारुसमा राज गरिरहेका लुकाशेन्को पराजित भएपछि उनले विपक्षीको प्रदर्शनमाथि चरम दमन गरे । यस क्रममा रोमनको च्यानल नेक्स्टाले यस विषयमा धेरै सूचना दिएको थियो । यसले राज्य दमनको भिडियो प्रकाशित गर्यो, प्रदर्शनकारीलाई हेल्पलाइनको लागि विज्ञापन समेत गर्यो र लुकाशेन्कोको निर्देशनमा दमन गर्ने पुलिस अधिकारीको व्यक्तिगत विवरण पनि सार्वजनिक गरिदियो ।
राष्ट्रपति लुकाशेन्कोले परम्परागत इन्टरनेटमा धेरै कुराहरु सेन्सर गर्न थालेपछि नेक्स्टा लोकप्रिय भएको थियो किनकि यसले इन्प्टिेड एप टेलिग्राम प्रयोग गर्छ र यसलाई ब्लक गर्न सहज छैन । गएको सेप्टेम्बरसम्म यसका पाठक स्रोता बिलियन पुगेका थिए । युरोपका अन्तिम तानाशाह समेत भनिने लुकाशेन्कोविरुद्ध नेक्स्टा यसरी आक्रामक रुपमा अगाडि बढ्यो कि यसले लुकाशेन्को र नेक्स्टाबीचको तनाव निकै बढायो ।
जानकारहरुका अनुसार पत्रकार रोमनले राष्ट्रपतिको विरोध गर्नको लागि धेरै पहिले सामाजिक संजालमा ग्रुप पनि बनाएका थिए । यो नेटवर्कलाई सरकारको आदेशमा २०१२ मा ह्याक गरिएको थियो । त्यतिबेला रोमन बेलारुसको स्टेट युनिभर्सिटीमा पत्रकारिताका विद्यार्थी थिए । सरकारको आलोचनापछि उनलाई युनिभर्सिटीबाट निष्काशित गरिएको थियो । उनीमाथि दंगा भड्काएको र देशद्रोहजस्ता आरोप लगाइएको थियो । यद्यपि अदालतले उनलाई सबै आरोपमा निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।
त्यसपछि रोमन २०१९ मा पोल्याण्ड गएका थिए । उनले जनवरी २०२० मा पोल्याण्डमा राजनैतिक शरण मागेका थिए । त्यसपछि उनले त्यहीँबाट नेक्स्टा नामको युट्युब च्यानल चलाउन थालेका थिए । यो च्यानलमा बेलारुस विरोधी खबर देखाइन्छ । गत वर्ष यो च्यानलले बेलारुसका राष्ट्रपति विरुद्ध थुप्रै खबर देखाएको थियो । त्यसपछि बेलारुस सरकारले रोमनविरुद्ध कैयौं मुद्दा दर्ता गरेको थियो । त्यसपछि उनलाई आतंकवादी भन्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।







डिसी नेपाल








Facebook Comment