‘यसले कोरोना भगाउँछ’ भन्दै सर्प चपाउने व्यक्ति पक्राउ
काठमाडौं। एक व्यक्तिले सर्प चपाएको भिडियो भाइरल भएपछि त्यही भिडियोका आधारमा सर्प चपाउने ती व्यक्तिलाई पक्राउ गरिएको छ । भारतको तमिलनाडु राज्यको मदुरै सहर नजिकै वादीपट्टीमा ती व्यक्तिले सर्प चपाएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । भाइरल भिडियोमा पेरुमलपट्टीका ती कृषि मजदूर ५० वर्षका वादीवेलुले सर्प खाइरहेको देखिएको थियो । उनलाई वन विभागले पक्राउ गरेको हो ।
टाइम्स अफ इण्डियाका अनुसार वादीवेलुले भिडियोमा सर्प कोरोनाभाइरसविरुद्ध लड्नको लागि राम्रो एन्टिबडी भएको दावी गर्दै आफूले कोरोनाभाइरसलाई आफूबाट टाढै राख्न सर्प खाएको बताएका थिए । मदुरै जिल्ला वन अधिकारी एस आनन्दले यो भिडियो देखेपछि सुरक्षाकर्मी पठाएर ती व्यक्तिलाई पक्राउ गरेका थिए । आनन्दका अनुसार वादीवेलु निकै गरिब परिवारको भएको पाइएको छ । अनुसन्धानमा पाइएअनुसार उनलाई अरु केही व्यक्तिहरुले सर्प खान उक्साएका थिए ।
तिनै उक्साउने व्यक्तिहरुले उनलाई कोरोनाभाइरसबारे दावी गर्न पनि उक्साएको अनुसन्धानमा पाइएको छ । उनले सर्प चपाएको भए पनि सर्पको विष थैली भने भाग्यवश नचपाएका कारण उनी बचेका थिए । पछि त्यो सर्प करेत भएको खुलासा भएको थियो । कमन करेत सर्पको विष न्यूरोटक्सिक हुन्छ जसले मानिसलाई प्यारालाइज गर्न सक्छ । वन विभागले उनलाई ७ हजार रुपैयाँ जरिवाना पनि तिराएको छ ।







डिसी नेपाल








Facebook Comment