काठमाडौं उपत्यकामा घट्दै सङ्क्रमित, देशभर ५० जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

डिसी नेपाल
१६ जेठ २०७८ १९:२१
900
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८२१ रहेकामा आज सो सङ्ख्या घटेर एक हजार ९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ सङ्क्रमित निको भएका छन् भने एक हजार ५९९ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २६ हजार १२५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ४३० सङ्क्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १४ हजार ९६६ रहेको छ भने ३२१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

५० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

देशभरका ५० जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।

प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी, धनकुटा र ओखलढुंगा, प्रदेश नं. २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ, पर्वत, लमजुङ र स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, रोल्पा र नवलपरासी (पश्चिम, कर्णाली प्रदेशमा सल्यान, दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार ११ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं १ मा ताप्लेजुङ, उदयपुर, खोटाङ र संखुवासभा तथा वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा म्याग्दी, लुम्बिनी प्रदेशमा अर्घाखाँची र कर्णाली प्रदेशमा जाजरकोट, कालीकोट र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा दार्चुलामा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

देशभर घट्दै सङ्क्रमण र मृत्युदर

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ ।

यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पीसीआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।पीसीआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय सङ्क्रमित रहेका छन् । पीसीआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.