इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि संकट
काठमाडौं। प्यालेस्टाइनसँग ११ दिनसम्म सशस्त्र संघर्षपछि हालै युद्धबिराम गरेको मध्यपूर्वी देश इजरायल फेरि चर्चामा आएको छ । यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकार संकटमा परेको छ । नेतन्याहुको सरकारको समर्थन गरिरहेका नेताहरु अब विपक्षी दलसँग मिलेर सरकार बनाउने प्रयासमा छ जसका कारण नेतन्याहुले छिटै सरकार छाड्नुपर्ने हुन सक्छ । इजरायलको यामिना पार्टीका नेता नफ्ताली बेनेटले आइतबार आफूहरुले छिटै विपक्षी पार्टीसँग गठबन्धन गर्न लागेको घोषणा गरेका छन् ।
नफ्ताली बेनेट र विपक्षी नेता याइर ल्यापिडबीच अहिले अन्तिम चरणको छलफल भइरहेको छ । यी दुईले कैयौं चरणमा छलफल गरिसकेका छन् । यदि यी दुईबीच अन्तिम सहमति भएमा बेन्जामिन नेतन्याहु लामो समयपछि इजरायलको प्रधानमन्त्री पदबाट हट्नेछन् । नफ्ताली बेनेटले आफू याइर ल्यापिडसँग मिलेर साझा सरकार बनाउने र इजरायललाई अहिलेको परिस्थितिबाट बाहिर निकाल्ने प्रयासमा रहेको बताएका छन् । बुधबारसम्म यो गठबन्धन बन्ने वा नबन्ने भन्ने विषयमा धेरै कुरा स्पष्ट हुने अपेक्षा गरिएको छ ।
इजरायलमा विगत २ वर्षदेखि सरकारको विषयमा विवाद चलिरहेको छ । दुई वर्षको अवधिमा ४ पटक निर्वाचन भइरहेको छ तर कुनै पनि निर्वाचनमा कुनै एक पार्टीले बहुमत पाउन सकेन । यो अवधिमा बेन्जामिन नेतन्याहुले अरु पार्टीसँग मिलेर गठबन्धन सरकार चलाइरहेका छन् । यदि नयाँ सरकार बन्यो भने यहाँ १२ वर्षदेखिको नेतन्याहु राज सकिनेछ । नेतन्याहु विगत १२ वर्षदेखि प्रधानमन्त्री पदमा छन् । यसअघि १९९० को दशकमा पनि उनी प्रधानमन्त्री भएका थिए ।
नेतन्याहुले भने अहिले नयाँ गठबन्धनका लागि भइरहेको प्रयास इजरायली जनतामाथि धोका भएको बताएका छन् । उनले अहिले देश संकटबाट गुुज्रिरहेको अवस्थामा राजनीतिमा यस्तो हलचल ठिक नभएको बताए । इजरायलमा बहुमतको लागि ६१ सिट चाहिन्छ । पछिल्लो २ वर्षमा भएका निर्वाचनमा कुनै दलले बहुमत ल्याउन सकेनन् र गठबन्धन सरकार चलिरहेको छ । केही दिनअघि मात्रै इजरायल र प्यालेस्टाइनबीच युद्धबिराम भएकोमा बदलिँदो सत्ता समीकरणले यहाँ युद्ध निम्त्याउन सक्ने आशंका गरिएको छ ।







डिसी नेपाल








Facebook Comment