मोबाइल लुटपाट गर्ने गिरोहका ४ जना पक्राउ
सांकेतिक तस्वीर-
काठमार्डौ। निषेधाज्ञाको समयमा मोबाइल लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौको विभिन्न स्थानबाट मोवाइल लुटपाट गरेको अभियोगमा काठमाडौको बुढानिलकण्ठ नगरपालिका –४ बाट चार जनालाई पक्राउ गरेको महानगरीय काठमाडौ परिसरले जनाएको छ।
यसरी पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, धादिङको गजुरी नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार रहेको प्रहरीले जनाएको छ।
उनीहरुले बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर काठमाडौंका विभिन्न स्थानमा मोबाइल लुटपाट गरी फरार हुने गरेका थिए। केही दिनअघि बौद्धको आरुबारीबाट रामनाथ खनालको मोबाइल लुटपाट गरेपछि उनले महानगरी प्रहरी वृत्त बौद्धमा उजुरी गरेको र सोही उजुरीको आधारमा मोबाइल खोजी गर्दै जाँदा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाट सो मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको थियो।
प्रहरीले उनीहरुको साथबाट चोरीमा प्रयोगमा भएको स्कुटर र विभिन्न कम्पनीका ११ थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका चारैजनामाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment